नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदाै ।
नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरको कोशी कोभिड अस्पतालमा उपचाररत एक संक्रमितको साँझ मृत्यु भएको हो। विराटनगरका ४७ वर्षीय पुरुषको उपचारका क्रममा साँझ ५ बजे मृत्यु भएको कोभिड अस्पतालका संयोजक डा दिपक सिग्देलले जानकारी दिए।
डा सिग्देलका अनुसार ती संक्रमितलाई सिभियर निमोनिया भएको थियो । उनी आइतबार अस्पतालमा भर्ना भएका थिए। अस्पताल भर्ना भएपछि उनको नमुना संकलन गरिएको थियो। सोमबार दिउसो १ बजे उनलाई कोरोना पुष्टि भएको थियो।
यो सहित नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १०८ पुगेको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको छ । कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।