नवकान्तिपुर संवाददाता
काठमाडौं, २ भदाै ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवादले समाधानको दिशा पक्डिरहेको बेलामा उपाध्यक्ष वामदेव गौतम भने एकाएक बिच्किएका छन् । सोमबारको सचिवालय बैठकमा उनले अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागे । दुबै अध्यक्ष पार्टीको जारी विवाद समाधानमा असफल भएको भन्दै उनले राजीनामा मागेका हुन् । पार्टीको विवाद आफ्नो एजेण्डाअनुसार समाधान हुन लागेको भन्दै दुबै अध्यक्षमाथि गौतमले आक्रोश पोखे ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमले एकाएक अध्यक्षद्वयको राजीनामा मागेपछि अन्य नेताहरू आश्चर्यमा परेका थिए । खासमा गौतमले विवाद समाधान कार्यदल गठनप्रति आपत्ति जनाउदै ओली र प्रचण्डले राजीनामा दिनुपर्ने तर्क गरेका थिए । के आधारमा कार्यदल बनाइयो ? अध्यक्षद्वय असफल भएको हो भने राजीनामा दिनुपर्छ, गौतमको भनाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, सचिवालयका अन्य सदस्य पनि असफल भएका हुन् ? हामीले नसके अन्य सदस्यलाई जिम्मेवारी दिनुपर्छ । हामीले किन सकेनौँ ? यो कार्यदल बनाएकोमा मेरो आपत्ति छ ।
एजेण्डा एउटाको र जस अर्काको थाप्लोमा हाल्नेगरी कार्यदल गठन भएको गौतमको भनाई थियो । कार्यदल नै गठन गर्नुपर्ने भए पनि सो को संयोजक आफूलाई बनाउनु पर्नेमा सल्लाह नै नगरी महासचिव विष्णु पौडेललाई बनाइएकोमा पनि उनले आपत्ति जनाए । कार्यदलको संयोजक पौडेललाई बनाएर आफूभन्दा माथि राख्न खोजिएको गौतमको भनाइ थियो ।
गत शुक्रबार ओली र प्रचण्डले आफूहरूबीच भएको समझदारीलाई लिखित रूप दिन र सहमति जुट्न बाँकी रहेका विषयमा सहमति खोज्न भन्दै पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदल गठनबारे माधव नेपाल र झलनाथ खनालसँग परामर्श गरिएको भए पनि गौतमलाई जानकारीसमेत दिइएको थिएन । सोही रिस फेर्दै गौतमले आजको सचिवालय बैठकमा दुबै अध्यक्षको राजीनामा मागेका थिए ।
प्रचण्ड–नेपाल समूहमा रहेर प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका गौतमले केही दिन अगाडि मात्र ६ बुदे प्रस्ताव सार्वजनिक गर्दै ओलीको समर्थनमा उत्रिएका थिए । आफ्नो समूह छोडेपछि बिच्किएका प्रचण्डले कार्यदल गठनबारे गौतमलाई जानकारी नै दिएका थिएनन् । ओलीले भने कार्यदल गठन भैसकेपछि मात्र जानकारी गराएका थिए ।
त्यसो त नेकपाको जारी विवाद गौतमकै प्रस्तावअनुरुप समाधानको क्रममा छ । गौतमले ५ वर्ष नै ओलीले सरकार चलाउने र पार्टी सञ्चालनको सम्पूर्ण जिम्मा प्रचण्डलाई दिएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव लिखितरूपमै स्थायी कमिटी बैठकमा पेश गरेका थिए । अन्ततः ओली र प्रचण्डबीच सोही स्प्रीटमा सहमतिको तयारी भैरहेको छ ।