६० जनाको परीक्षण गर्दा ४२ जना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि

चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये २ महिला र ४० पुरुष रहेको भरतपुर कोभिड-१९ प्रयोगशालाले जनाएको छ ।

यसअघि सोही बाहिनीका ८ जनामा कोरोना देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए ।



६० जनाको नमुना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको उनले बताए । ९ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ १ जनालाई मात्र ज्वरो बाँकी रहेको उनले जानकारी दिए । बाहिनीमा ३ सयभन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका ३ जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ ।

२ दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरूको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न बागमती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो । राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताइन् ।

सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनले जानकारी दिइन् । सोमबार राति अबेर कोभिड-१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।

सम्बन्धित समाचार