
घृणा र आपसी विभाजनलाई प्रशय दिने खालका शब्दसहितको र्याप गीत युट्युब मार्फत सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ । मंगोल ग्याल्ज ली नाम गरेका र्यापरले आफै रचना गरी तयार पारेको गीतको म्यूजिक भिडियोमा नेपालको झण्डा जलाएको दृष्य देखाइएको छ।
बाहुन–क्षेत्रीलाई आदिबासीको ‘दुश्मन’ का रुपमा प्रस्तुत गरिएको गीतको नाम ‘देशद्रोही’ रहेको छ । ‘मंगोल होप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा बाहुन–क्षेत्रीलाई शरणार्थी भनिएको छ ।
भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतको तस्बिर जलाइएको छ । भिडियोमा मकवानपुरको पूर्वी बागमती गाउँपालिका–३ सल्लेनीस्थित विष्णु आधारभूत विद्यालयको क्षेत्र देखिएको छ ।
अहिलेसम्म एक लाख भन्दा बढी पटक हेरिएको भिडियोमा ४० हजार भन्दाबढी डिसलाइक आएको छ भने मात्रै ८ सयभन्दा बढीले लाइक गरेका छन् । कमेन्टमा प्रायः सबैले आलोचना गरेका छन् ।
राष्ट्रिय झण्डा जलाउनेहरुलाई कडा कारवाहीको माग कमेन्ट गर्नेहरुले गरेका छन् ।
