उपत्यकामा आजदेखि निषेधाज्ञा, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू हुने भएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आज मध्यरातिदेखि १० भदौसम्म उपत्यकामा निषेधाज्ञा लागू भएको हो । संक्रमण रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम आज राति १२ बजेदेखि भदौ १० गते मध्यरातिसम्म लागू हुने गरी उपत्यकामा निषेधाज्ञाको निर्णय गरिएको हो ।

मंगलबार उपत्यकाका ३ जिल्लाको सुरक्षा समितिको संयुक्त बैठकको निर्णयअनुसार औषधि खाद्यवस्तु तथा अत्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन पाउने छैन । यसैगरी, अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवासाय सञ्चालनमा रोक लगाइएको छ भने अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सवारीसाधनबाहेक उपत्यकाभित्र अरू सवारीसाधन प्रवेश निषेध गरिएको छ ।



यस्तै कोभिड १९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम, उपचार तथा व्यवस्थापन कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउजाउ गर्नपर्ने कर्मचारीको हकमा सम्बन्धित कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ देखि १०ः३० र बेलुकी ३ देखि साढे ५ बजेसम्म आवागमन गर्नेबाहेकको समयमा सवारी साधन सञ्चालन गर्न दिइने छैन ।

निर्णयअनुसार औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास तरकारी, फलफूल दूध, दूरसञ्चार, फोहोर बोक्ने गाडी जस्ता अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने कुनै पनि मेला महोत्सव जात्रा, भिडभाड जस्ता गतिविधिमा पनि रोक लगाइएको छ ।

दैनिक नित्यपूजा बाहेकको धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, भाषा कक्षालगायत पनि सञ्चालन गर्न पाइने छैन । सबै प्रकारका तालिम, गोष्ठी, सभा, सेमिनार, चिडियाधर लगायत खोल्न तथा सञ्चालनमा पनि रोक लगाइएको छ ।

फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाढा वा साइकलमा हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन रोक लगाइनुका साथै होटल, रेष्टुराँ सञ्चालन गर्न पनि पाइने छैन । बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवा गर्ने व्यवस्था मिलाउन भनिएको छ तर सो सम्भव नभए न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्न दिइने छ ।

यस्तै अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयाग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ ।

सम्बन्धित समाचार