अछाम बाढी अपडेट : ६ जनाको शव भेटियो, ११ बेपत्ता

अछामको कैलाशखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । ११ जना अझै बेपत्ता छन् ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार मंगलबार राति आएको बाढीमा बेपत्ता भएका ६ जनाको शव भेटिएको हो । उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।

रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बाढीले बगाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा बाढीमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको छ ।



बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका-३ रलेको लमतणा र सेरीमा भेटिएको छ ।

दर्नाको पक्की पुलसमेत बगेको स्थानीय पुष्प विष्टले जानकारी दिए । ‘रामारोसन गाउँपालिका–५ को सैनीबजारमा दुई दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन् । हामी अहिले सैनीबजार जाँदै छौं,’ उनले भने, ‘खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।’

कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको उनले बताए । विष्टका अनुसार दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ लागेको डीएसपी थापाले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली घटनास्थल गइरहेको छ ।

सम्बन्धित समाचार