नेकपा एमालेले पायो औपचारिकता, अध्यक्ष तिवारी भन्छिन् ‘मदनभण्डारीको सिद्धान्तलाई विलिन हुन दिँदैनौं’

नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले) ले दल दर्ताको प्रमाणपत्र पाएको छ । गत असार १४ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको नेकपा एमालेले आयोगबाट बुधवार दल दर्ताको प्रमाणपत्र पाएको हो ।

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझिसकेपछि आयोग बाहिर पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेकी अध्यक्ष सध्या तिवारीले आफूहरू जनताको सेवक भएर काम गर्न दल दर्ता गरेको बताइन् । ‘जनताको लागि काम गर्छु भनेर गएकाहरू जनताको शासक भएर बसे’ उनले भनिन् ‘त्यसैले हामी त्यसलाई निर्मुल पार्छौ, जनताको सेवक भएर काम गर्नका लागि यो दल दर्ता भएको हो ।’ नेकपा एमाले जननेता मदनभण्डारीको सिद्धान्तलाई विलिन हुन नदिन उनको भनाई थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मदन भण्डारीको विचारधारा बोकेर हिडेको भए पनि अहिले त्यसलाई उनीहरूले छोडिसकेको उनको दाबी थियो । साथै जनताको हक हित र सुरक्षाका कुराहरूमा वर्तमान सरकार गम्भीर नभएको उनको भनाई थियो ।



यसअघि नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) त्यसको चर्चा समेत चलेको थियो । त्यो बेला उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता भएको दाबी गरेका थिए । त्यस विषयलाई खण्डन गर्दै नेकपा एमालेकी अध्यक्ष तिवारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दल दर्ता गराएको भन्ने कुरा हल्ला मात्रै भएको बताइन् । उनले भनिन् ‘हामीले स्वतन्त्र रूपमा लागेर दल दर्ता गराएका हौं, यसमा कसैको केही निर्देशन छैन ।’

अहिले कोरोनाको कहर बाँकी रहेकाले अब पार्टीका अन्य कामहरू कोरोनाको महामारी कम भएपछि अघि बढाइने नेकपा एमालेका महासचिव मनीषकुमार उपाध्यायले बताए । नव गठित नेकपा एमालेमा उपाध्यक्षमा भगवती खड्का छन् भने सचिवमा सातैवटै प्रदेशबाट एक–एक जना रहेका छन् । पार्टीको चुनाव चिह्न हिमालमा उदाउँदै गरेको सूर्य रहेको छ ।

सम्बन्धित समाचार