बाबुराम, किरण र विप्लवलाई साथमै राख्न नसकेकोमा पछुतो लाग्छ, फेरि एक हुन सक्छौंः प्रचण्ड

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनका सहयात्री मोहन वैद्य किरण, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवमा पनि पार्टी फुटाएर गल्ती गरिएछ भन्ने महशुस हुँदै गएको बताएका छन् । उनीहरुलाई साथमै राख्न नसकेकोमा आफूलाई पनि पछुतो लाग्ने गरेको उनले बताए ।

पत्रकार भूषण दाहालको ब्रेभा डेल्टा शो कार्यक्रमलाई अन्तर्वार्ता दिँदै प्रचण्डले बुधबार माओवादी आन्दोलनका सहयात्री फेरि एकचोटी एक हुने समय आएको बताए । तीन जनासँग नै बेला बेला कुरा भइरहेको बताउँदै प्रचण्डले भने, ‘हामीले विभाजित भएर गल्ती गर्यौं, प्राप्त उपलब्धि पनि जोखिममा पर्ने पो हो कि भन्ने चिन्ता हामी सबैलाई छ।’



प्रचण्डले पार्टीभित्रका विवाद मिलाउन कार्यदल बनेको र सचिवालय बैठक पनि बसेको सन्दर्भ जोड्दै अबको एक हप्ताभित्र नयाँ निष्कर्ष आउने बताएका हुन्। पार्टी एकतातर्फ उन्मुख भएपनि विवाद समाधान भइनसकेको धारणा राखेका हुन्।

अध्यक्ष प्रचण्डले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने भएकाले अहिले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनु नपर्ने संकेत पनि गरे। ‘कार्यदलले सुझाव दिएपछि हामी दुई अध्यक्ष, सचिवालय र स्थायी समितिमा छलफल गरेर विवाद समाधान गर्नतिर लाग्छौं’, प्रचण्डले भने, ‘स्थायी समितिबाट निर्णय गरेर केन्द्रीय समिति बैठक बस्छौं, त्यसपछि महाधिवेशनमा जाने हो।’

पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भन्ने नै अहिलेको मुख्य बहस हो भन्दै प्रचण्डले कार्यदलले ल्याउने सुझावमा छलफल भएपछि मात्रै के हुन्छ भन्ने प्रष्ट हुने बताए। उनले पदका लागि पार्टी एकता नभएको र आफ्नो ध्यान पद त्याग्नेतिर रहेको भन्दै पार्टीभित्रको विवाद बाहिर आउने क्रममा पदका लागि झगडा परेजस्तो मात्र देखिएको बताए।

सम्बन्धित समाचार