नेकपा अब महाधिवेशनमा जान्छ, प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनु पर्दैन : प्रचण्ड

अन्ततः सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने बताएका छन् । प्रचण्डले एक हप्ताभित्र पार्टीमा नयाँ निष्कर्ष निस्किने पनि बताएका छन्। पत्रकार भूषण दाहालको द ब्राभो डेल्टा शो कार्यक्रमलाई अन्तर्वार्ता दिँदै प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनको म्याद तोकेपछि पार्टीभित्रका विवाद मिलाउन कार्यदल बनेको र सचिवालय बैठक पनि बसेको सन्दर्भ जोड्दै प्रचण्डले अबको एक हप्ताभित्र नयाँ निष्कर्ष आउने बताए।

अध्यक्ष प्रचण्डले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने भएकाले अहिले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनु नपर्ने संकेत पनि गरे। ‘कार्यदलले सुझाव दिएपछि हामी दुई अध्यक्ष, सचिवालय र स्थायी समितिमा छलफल गरेर विवाद समाधान गर्नतिर लाग्छौं’, प्रचण्डले भने, ‘स्थायी समितिबाट निर्णय गरेर केन्द्रीय समिति बैठक बस्छौं, त्यसपछि महाधिवेशनमा जाने हो।’



पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भन्ने नै अहिलेको मुख्य बहस हो भन्दै प्रचण्डले कार्यदलले ल्याउने सुझावमा छलफल भएपछि मात्रै के हुन्छ भन्ने प्रष्ट हुने बताए। उनले पदका लागि पार्टी एकता नभएको र आफ्नो ध्यान पद त्याग्नेतिर रहेको भन्दै पार्टीभित्रको विवाद बाहिर आउने क्रममा पदका लागि झगडा परेजस्तो मात्र देखिएको बताए।

प्रचण्डले मन्त्रीपरिषद र प्रदेशका मुख्यमन्त्रीको फेरबदल पार्टीभित्र छलफल गरेर नै हुने बताए।

सम्बन्धित समाचार