ओली र प्रचण्डले छाने नयाँ मन्त्री, कोको हुँदैछन् विदाइ ?

लामो समय आन्तरिक विवाादमा रूमल्लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्ततः सहमतिको बाटो पहिल्याएको छ । महाधिवेशनमा जानेगरी विवादको हल गर्न अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपछि त्यसलाई लिखित रूप दिन र केही आन्तरिक विषय मिलाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेपछि ओली–प्रचण्डले सन्तोषको सास फेरेका छन् ।

पार्टीभित्रको विवाद अब सहमतिको दिशातिर जाने देखेपछि गत हप्ता नै प्रधानमन्त्री ओलीले पत्रकार भूषण दाहालको द ब्राभो डेल्टा शो कार्यक्रमलाई अन्तर्वार्ता दिने क्रममा ५ दिनभित्र नेकपामा सहमतिको नयाँ सिनारियो देखिने बताएका थिए । त्यसको एक हप्तापछि प्रचण्डले सोही कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा दिनु नपर्ने बताए । प्रचण्डले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने भएकाले अहिले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनु नपर्ने बताएका थिए । ‘कार्यदलले सुझाव दिएपछि हामी दुई अध्यक्ष, सचिवालय र स्थायी समितिमा छलफल गरेर विवाद समाधान गर्नतिर लाग्छौं’, प्रचण्डले भने, ‘स्थायी समितिबाट निर्णय गरेर केन्द्रीय समिति बैठक बस्छौं, त्यसपछि महाधिवेशनमा जाने हो ।’



महाधिवेशनमा जाने मूल कार्यभारमा सहमति भएपछि र बाँकी विषय कार्यदलले टुङ्ग्याउने भएपछि ओली–प्रचण्ड भने मन्त्रिपरिषद् पुर्नगठनमा ध्यान दिइरहेका छन् । गत मंगलबार भेटेरै र त्यसपछि पनि लगातार फोन वार्तमार्फत ओली र प्रचण्डले नयाँ मन्त्रीको नाम टुङ्ग्याएको स्रोतको दाबी छ । उनीहरू विदाइ गर्ने मन्त्रीमा पनि सहमतिनजिक पुगेका छन् । यता कार्यदलले यही साता प्रतिवेदन बुझाउने र त्यसलगत्तै मन्त्रिपरिषद् गुर्नगठन हुने बताइएको छ । तीज लगत्तै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारीमा ओली प्रचण्ड लागिरहेका छन् ।

नयाँ मन्त्रीहरूमा प्रचण्ड र नेपाल पक्षका धेरैले अवसर पाउने भएका छन् । ओली पार्टीभित्र शक्ति सन्तुलन मिलाउन तयार भएपछि नै उनको कार्यकाल ५ वर्ष नै पुर्याउने गरी जुझारू नेताहरूलाई क्याविनेटमा लैजाने तयारी गरिएको हो । अब बन्ने मन्त्रिपरिषद् नै चुनावसम्म कायमै रहने भएकोले जनताको मन जित्न सक्नेगरी काम गर्न सक्नेलाई अवसर दिने बताइएको छ । यता मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेसँगै मन्त्री बन्नका लागि नेताहरू विभिन्न शक्तिकेन्द्र धाउन सुरू गरेका छन् ।

यी मन्त्रीहरूको हुँदैछ विदाइ
ओली र प्रचण्डले कार्यकाल २ वर्ष पार गरेका अधिकांश मन्त्रीहरूलाई विदाइ गर्ने तयारी गरेका छन् । साथै कार्यसम्पादन राम्रो नभएका केही नयाँ मन्त्रीहरू पनि हटाउने तयारी गरिएको छ । स्रोतका अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, खानेपानी मन्त्री बिना मगरलाई विदाइ गरिंदैछ ।

ओली नेतृत्वको क्याबिनेटमा सुरूदेखि नै रहेको भए पनि गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुनले भने निरन्तरता पाउनेछन् । सञ्चार र शहरी विकास मन्त्रालय खाली नै रहेकोले सो स्थानमा पनि नयाँ मन्त्रीहरूले अवसर पाउने भएका छन् ।

यी हुन् ओली र प्रचण्डको लिस्टमा परेका सम्भावित नयाँ मन्त्रीहरू
नयाँ मन्त्रीमा अहिले कार्यदलमा रहेका अधिकांश नेताहरू पर्ने भएका छन् । कार्यदलमा रहेका महासचिव विष्णु पौडेलबाहेक भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, र पम्फा भुसालगरी चारैजनाले यसपटकको पुर्नगठनमा अवसर पाउने भएका छन् । महासचिव पौडेल पार्टीमै समय दिनुपर्ने भएकोले मन्त्री नबन्ने भएका छन् । त्यसैगरी कार्यदलमै रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पनि मुख्यमन्त्रीबाट राजीनामा गराएर केन्द्रमै पार्टी सञ्चालनमा खटाइने भएको छ ।

थप नयाँ मन्त्रीमा बेदुराम भूषाल, देवेन्द्र पौडेल, अमनलाल मोदी समेतको नाम टुंगो लागेको स्रोतले बताएको छ । त्यसैगरी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लगेर उपप्रधानमन्त्री बनाउने तयारी गरिएको छ । पार्टी प्रवक्तालाई समेत उपप्रधानसहित आकर्षक मन्त्रालय दिने तयारी भएको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार