
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार सुचारु गर्ने निर्णय गरेको छ । यसअघि कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र-सीसिएमसीले सोमबार विदेशमा अलपत्र नेपालीको उद्धार रोक्न नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको थियो । अनुमति पाइसकेका चार्टर्ड उडानसमेत रद्ध भएका थिए ।
मन्त्रिपरिषद् बैठकले अब नियमित उडान भएका देशबाट नियमित उडानमार्फत र अन्य देशको हकमा चार्टर्ड उडानमार्फत उद्धार उडान गर्ने पनि निर्णय गरेको छ । उद्धार उडान कहिलेबाट सुचारु गर्ने भन्ने विषयमा अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्णय गर्ने छ ।
सरकारले दैनिक बढीमा १५ सय जनासम्म ल्याउने निर्णय पनि गरेको छ । स्रोतका अनुसार स्वदेश फर्कन चाहनेले ७२ घण्टा ननाघेको पीसिआर रिपोर्ट बुझाउनुपर्ने र काठमाडौँमा सात दिनसम्म आफै रकम तिरेर क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ ।
कुन कुन देशबाट नियमित उडान गर्ने भन्नेबारे केही खुलाइएको छैन । हालसम्म विभिन्न ३० देशबाट झण्डै ५२ हजार नेपालीलाई स्वदेश ल्याइएको छ ।
