नवकान्तिपुर संवाददाता
काठमाडौं
विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ ले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने अपेक्षा रहेको जनाएको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोस अधानोम गेहब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा स्पेनिस फ्लू जस्तै कोरोना महामारीले पनि नियन्त्रणमा दुई वर्ष लिने बताएका हुन् ।
सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउँन दुई वर्ष लागेको थियो । कोरोना संक्रमण विश्वमा तीब्र गतिमा फैलिए पनि उच्च प्रविधिका कारण यसलाई स्पेनिस फ्लुको तुलनामा चाँडै नियन्त्रणमा लिन सकिने महानिर्देशक टेडरोसको भनाइ छ ।
उनले पीपीईमा भएको भ्रष्टाचारलाई आपराधिक क्रियाकलापका रुपमा परिभाषित गरे । टेडरोसले विश्वका विभिन्न देशमा महामारीकै बेला पीपीईसहितका सामग्री खरिदका बेला भ्रष्टाचार भएका घटना सार्वजनिक भएको भन्दै कुनै पनि प्रकारको भ्रष्टाचार स्वीकार्य नरहेको बताएका हुन् ।
कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको मृत्यु भैसकेको छ । दुई करोड २७ लाख भन्दा बढी मानिस विश्वभर संक्रमित भएका छन्।