नेकपा कार्यदलको प्रतिवेदन : ओलीको राजीनामा माग्न नपाइने, एकल अध्यक्ष र सर्वोच्च नेताबारे मौन

पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले सहमतिको खाकासहितको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन आजै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएकाे छ । कार्यदलले काम गरिरहेको बेलामा अध्यक्षद्वय ओली र दाहालका बीचमा पछिल्लो समय सरकारी नियुक्तिका विषयमा विवाद भएकाले कार्यदलको काम प्रभावित हुन पुगेको थियो ।

प्रचण्डले ओलीलाई कार्यदल गठन भएपछि भएका नियुक्ति खारेज नगरे कार्यदल भंग गर्ने चेतावनी विहीबार नै दिएका थिए । तर ओलीले सोही दिन कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएर तत्काल प्रतिवेदन तयार गरेर बुझाउन निर्देशन दिएका थिए । कार्यदलले गहिरोमा अध्ययन नगरी ओली र प्रचण्डबीच भएका समझदारीलाई नै लिखित प्रतिवेदन बनाएर पेश गरेकाे स्रोतको दाबी छ । कार्यदल भंग गर्दा नकारात्मक सन्देश जाने भएकोले औपचारिकता निभाउन मात्र कार्यदलले प्रतिवेदन बुझाएकाे हो ।



नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गत शुक्रबार गठन भएको थियो । कार्यदलले गत शनिबारदेखि काम सुरु गरेको थियो ।

के छ प्रतिवेदनमा ?
कार्यदलले गत ४ मंसिर २०७६ मा भएको सहमतिअनुसार नै प्रतिवेदनमा ओली र प्रचण्डको कार्यविभाजनलाई पुनव्र्याख्या गरिएको छ । ओलीले पूर्ण रूपमा सरकार सञ्चालन गर्ने र प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने गरी प्रतिवेदन तयार गरिएको छ । स्थायी कमिटीमा माग भएअनुसार ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनु नपर्ने व्यवस्था गरिएको छ ।

प्रचण्डले पार्टी एकताको काम सकेर गत माघमा केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार आगामी चैत अन्तिम साता एकता महाधिवेशनको तयारी गर्ने गरी कार्यविभाजन भएको छ । ओलीले सरकार सञ्चालन गर्ने क्रममा महत्वपूर्ण नियुक्तिका विषयमा पार्टीमा छलफल र निर्णय गरेर गर्ने गरी अगाडि बढ्नुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ ।

यसअघि ओली र प्रचण्डबीच महाधिवेशन लक्षित पदमा भएका सहमतिबारे कार्यदलले कुनै सुझाव पेश गरेको छैन । महाधिवेशनमा ओली अध्यक्षमा नउठ्ने, प्रचण्डलाई एकल अध्यक्षको उम्मेद्वार बनाउन सघाउने र महाधिवेशनपछि ओलीलाई सर्वोच्च नेता बनाउन पहल गर्नेलगायतका विषयमा ओली र प्रचण्ड सहमत भएको भएपनि कार्यदल यस विषयमा मौन रहेको पाइएको छ ।

सहमति : हात्ती आयो हात्ती आयो फुस्सा
नेकपामा बृहत सहमतिको विषय फेरि एकपटक हात्ती आयो हात्ती आयो फुस्सा हुने देखिएको छ । ओली र प्रचण्ड एउटा समझदारीमा पुगेर कार्यदल गठन हुँदा नेकपाका नेता तथा कार्यकर्तामा पार्टीमा बृहत् सहमति हुने र विवाद सधंैको लागि अन्त्य हुने अपेक्षा थियो । तर यसैबीच ओलीले एकल रूपमा विभिन्न नियुक्ति गरेपछि प्रचण्डसँग सम्बन्ध बिग्रन पुगेको छ । ओलीले पुरानै प्रवृत्ति देखाएको भन्दै उनीसँग सहमतिको आशामा समय खर्च गर्नु बेकार हुने भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहितका ओलीइत्तरका शीर्ष नेताहरुले प्रचण्डलाई ओलीसँग फाइनल कुरा गर्न चेतावनी दिने गरेका छन् ।

ओलीले कार्यदल गठन गरेपछिका नियुक्ति खारेज नगरेमा कार्यदलको प्रतिवेदन स्वीकार पनि नगर्ने र ओलीसँग पछिल्लो समय भएका समझदारीबाट पनि पछि हटेर दुबै पदबाट राजीनामा माग्ने तयारीमा प्रचण्ड नेपाल समूह पुगेको छ । ओलीको हठका कारण फेरि एकपटक नेकपाको विवाद युटर्न हुँदै फुटको दिशामा अगाडि बढेको छ ।

 

सम्बन्धित समाचार