नवकान्तिपुर संवाददाता
जनकपुरधाम, ६ भदौ ।

धनुषामा सञ्चालित आइसोलेसनमा लापरबाही भइरहेको खुलासा भएको छ । प्रदेश २ सरकारले नगराईन नगरपालिका वडा नं. ५ गंगुलीस्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा स्वीपरले संक्रमितहरुको स्वास्थ्य जाँच गरिरहेको पाइएको छ । आइसोलेसनमा रहेका एकजना कोरोना संक्रमित सञ्चारकर्मीले आइसोलेसन सेन्टरको व्यवस्थापन पक्षले बिरामीको स्वास्थ्य परीक्षण गर्नका लागि डाक्टरलाई नभई स्वीपरलाई भित्र पठाउने गरेको बताए।
उनले भने, ‘चिकित्सकहरु डरले भित्र आउँदैनन्। बिरामीको स्वास्थ्य अवस्था बुझ्नुपरे त्यहाँ कार्यरत स्वीपरलाई पीपीई लगाएर भित्र पठाइन्छ ।’ शनिबार बिहान आइसोलेसनमा संक्रमितहरुको स्वास्थ्य अवस्था सम्बन्धी जानकारी लिन आएका व्यक्ति स्वास्थ्यकर्मी नभई त्यहाँ कार्यरत एकजना स्वीपर रहेको स्वीपरले आफ्नै मुखले स्वीकार गरेका छन्।
पीपीई लगाएर भित्र आएको व्यक्तिले थर्मल गनले पालैपालो सबैको तापक्रम जाँच गरेका थिए तर उनीसँग आफ्नो शरीरको तापक्रम सोधपुछ गर्दा आफू डाक्टर नभई स्वीपर रहेको स्वीकार गरेका छन् । चिकित्सकहरु बाहिर बसे पनि डरले कोही भित्र आउन नमानेको र आफूलाई संक्रमितहरुको शरीरको तापक्रम जाँच्न पठाएको कुरा उनले स्वीकार गरेको संक्रमित सञ्चारकर्मीले बताए।
