नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदौ ।
अमेरिकी रक ब्यान्ड ‘रेड हट चिल्ली पेप्पर्सका पूर्वगिटारिस्ट ज्याक सेर्मनको ६४ वर्षमा निधन भएको छ । मृत्युको कारण भने अझै थाहा हुन सकेको छैन ।
ज्याकको निधनबारे जानकारी दिँदै ब्यान्डको आधिकारिक ट्विटर ह्यान्डलमा यस्तो लेखिएको छ, ‘ हामी आरएचसीपी परिवारका सदस्यहरु ज्याकको अर्को संसारमा सहज यात्राको कामना गर्दछौं, किनभने ज्याकको निधन भइसकेको छ । ज्याकले हाम्रो पहिलो एल्बममा गिटार बजाएका थिए भने हाम्रो पहिलो अमेरिकाको टुरमा पनि हामीसँगै थिए ।’
त्यस्तै अर्को ट्विटमा लेखिएको छ, ‘ऊ राम्रो साथी थियो र सँगै बिताएका राम्रा नराम्रा सबै पलका लागि हामी उसलाई धन्यवाद दिन्छौं । बुगी प्लेटफर्मममा शान्तिको कामना ।’
ज्याक यस ब्यान्डसँग सन् १९८३ मा जोडिएका थिए भने उनी यस रक ब्यान्डका दोस्रो गिटारिस्ट थिए । उनीअघि हिलेल स्लोभाक यस ब्यान्डका गिटारिस्ट थिए भने पछि स्लोभाक फर्किएपछि ज्याकले ब्यान्ड छोडेका थिए । ज्याकले ‘द रेड हट चिल्ली पेप्पर्स’ टाइटल गीत भएको ब्यान्डको पहिलो एल्बम र दोस्रो एल्बममा गिटार बजाएका थिए ।