नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदाै ।
कोरोना संक्रमण दर आक्रमकरुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भाइरस रोकथामका लागि भदौ ३ गतेदेखि १० गतेसम्म जारी गरेको निषेधाज्ञा झन् कडा गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले खाद्यवस्तु, दूध, फलफूल, तरकारी र माछामासु पसल बिहान सवा ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने जनाएका छन् ।
यसअघिको आदेशमा खाद्यवस्तु, दूध लगायतका पसललाई अत्यावश्यक सेवामा राख्दै जुनसुकै बेला पनि सञ्चालन गर्न पाइने उल्लेख थियो । प्रशासनले औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री गर्ने पसल भने जुनसुकै बेला पनि निर्वाध रुपमा खुला राख्न सकिने जनाएको छ ।
नेपालमा आज मात्र थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ९३५ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरी जम्मा १६६ जना संक्रमित थपिएका छन् ।