स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार : शिक्षित मानिसहरूको अमानवीय कार्य

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस विरूद्धको लडाइँमा सबै व्यक्ति आफैंमा एउटा सिपाही हो । कारोडौं मानिसहरूमा कोरोना संक्रमण पुष्टि भइसकेको र लाखांैले ज्यान गुमाउनु परेको कोरोना भाइरसविरूद्ध हालसम्म औषधि रखोप पत्ता लागिसकेको छैन । यस्तो अवस्थामा कसरी कोरोना भाइरसको संक्रमणबाट आफू, आफ्नो घरपरिवार, समुदाय र देशलाई बचाउँने भन्ने मूल प्रश्न हाम्रा सामु छ । विश्वका अन्य देशहरूको अनुभव र विज्ञहरूको सुझावलाई हेर्दा हालसम्म भौतिक दुरीको कायम, मास्कको सही प्रयोग, स्यानिटाइजर या साबुन पानीले पटकपटक हात धुने कुराहरू नै उत्तम उपायहरू हुन् । तर सावधानीका बाबजुत पनि हामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएमा अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउन सक्छ रत्यस्तो बेला हाम्रा लागि सबैभन्दा महत्वपूर्ण व्यक्ति भनेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूनै हुन्।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै अहिले फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा छन् । कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यक स्वास्थ्य सामाग्री विना नै काममा खटिनु पर्ने बाध्यता छ, जसले गर्दा उनीहरूमा संक्रमणको जोखिम बढ्दो देखिन्छ । संक्रमणको जोखिम बढिरहेको अवस्थामा आम नागरिकहरूको जीवन रक्षाका लागि फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू असुरक्षित हुनु भनेको आम नागरिकहरू पनि असुरक्षित हुनु सरह नै हो ।



कोरोना संक्रमणको जोखिम मोलेर अग्रपङ्तिमा खटिरहेका स्वास्थ्यकर्मीहरूमाथि दुव्र्यवहारका घटना भइरहेका छन् । स्वास्थ्यकर्मीहरूमाथि यस्ता दुव्र्यवहारका घटनाहरू गाउँघरमा भन्दा शिक्षित मानिसहरूको बसोबास हुने शहरहरूमा बढी देखिएका छन् । केही दिनअघि मात्रै संघीय राजधानी काठमाडौं बानेश्वरस्थित एक घरमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाले दुव्र्यवहार गरे । यसअघि चितवनमा एक चिकित्सकको घरमा ‘कोरोना संक्रमित’ लेखिएको ब्यानर टाँग्न पुगे । यति मात्रै होइन,कतिपय ठाउँमा कोठा भाडामा लिएर बसेका स्वास्थ्यकर्मीहरू कोठाबाट निकालिएका घटनाहरू समेत बाहिरिए । फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि हुने गरेका दुव्र्यवहारहरूले स्वास्थ्यकर्मीको आत्मबललाई समेत कमजोर पार्ने काम समुदायबाट नै भएको देखिन्छ, जसले गर्दा स्वास्थ्यकर्मीहरूलाई आफ्नो पेशाप्रति नै वितृष्णा पैदा गरिदिएको छ । यस किसिमका घटनाहरूबाट हाम्रो समाज कुन बाटोमा जान खोज्दैछ भन्ने गम्भीर प्रश्नसमेतखडा भएको छ ।

कारवाहीको चेतावनी

स्वास्थ्यकर्मीहरूमाथि भइरहेको दुव्र्यवहारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत आफ्नो ध्यानकर्षण भइरहेको बताउँदै आइरहेको छ । मन्त्रालयले स्वास्थ्यका मापदण्ड अपनाउने बहानामास्वास्थ्यकर्मीमाथि भैरहेका दुव्र्यवहारप्रति आफ्नो ध्यानाकर्षण भएको र दुव्र्यवहार गर्नेलाई कारबाही हुने पटक–पटक चेतावनी दिइरहे पनि यस्ता घटनाहरू दोहोरिन भने छोडेका छैनन् । पछिल्लो समय स्वास्थ्यकर्मीहरूमाथि हुने दुव्र्यव्यारप्रति प्रतिपक्षी दल नेपाली कांग्रेसलगयत अन्य दलहरूले समेत विरोध जनाउँदै आएका छन् ।

मानव अधिकार आयोगको चासो

स्वास्थ्यकर्मीहरूमाथि भइरहेका दुव्र्यवहारका घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले समेत चासो देखाएको छ । काठमाडौं, चितवनलगायतका ठाउँमा कोरोना संक्रमितका उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि छिमेकी तथा टोलवासीहरूबाट भएको धम्की र अमानवीय व्यवहारका घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। जनस्वास्थ्य संकटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरूमाथि नै अभद्र तथा अमानवीय व्यवहार प्रदर्शन हुनु दुःखद् रहेको भन्दै आयोगले यसप्रकारका दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्नेप्रति सचेत हुन र उनीहरूप्रति सहयोग र सम्मानजनक व्यवहार गरी नागरिकको कर्तव्य पालना गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार