नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदाै ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी नगरपालिका ९ बस्ने ४८ वर्षीया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जानकारी दिए । मुटुसम्बन्धी, पित्तथैली र मिर्गौलाको समस्या देखिएको ती महिला साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई त्यसै दिन कोरोना संक्रमण भएको थियो ।
त्यसैगरी काठमाडौंकै ७४ वर्षीय पुरुषको पनि ललितपुरस्थित पत्न अस्पतालमा सोमबार निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । उनी भदौ ६ गते देखि पाटन अस्पतालमा उपचार गराइरहेको र उपचारको क्रममा आज मृत्यु भएको हो ।
त्यस्तै धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि ललितपुरस्थित पत्न अस्पतालमै सोमबार उपचारको क्रममा मृत्यु भएको छ ।
यता लहान नगरपालिका–४ गोविन्दपुर मलहन्मा गाउँका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारको क्रममा धरानमा मृत्यु भएको छ । अत्यधिक खोकी, सास फेर्न अप्ठ्यारो, ज्वरो आएपछि उनलाई २ भदौमा उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । सो क्रममा कोरोना पुष्टि भएपछि ७ भदौदेखि प्रतिष्ठानको कोभिड अस्पतालको आइसियुमा उपचार भइरहेको थियो । सोही क्रममा सोमबार दिउँसो ३ बजे युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६१ पुगेको छ । दिउँसो स्वास्थ्य मन्त्रालयले १५७ जनाको निधन भएको जानकारी दिएकोमा त्यसपश्चात थप ४ जनाको निधन भएको हो ।
