नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदाै ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा भीम रावलले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)मा आफ्नो अडान परिवर्तन नभएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता रावलले एमसीसीबारे नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमा पनि परिमार्जनसहित पास हुनुपर्ने मत रहेको बताए ।
‘भीम रावलले एमसीसी अनुमोदन गर्न सहमति जनायो भन्ने समाचार गलत र दूराशयपूर्ण छ । एमसीसीबारे नेकपा कार्यदलको प्रतिवेदनमा पनि नेपालको हीत र कानून विपतिका सम्झौताका प्रावधान परिमार्जन र संशोधन गरेर मात्र अनुमोदन गर्न मिल्ने भन्ने मेरो धारणा थियो’, उनले भनेका छन् ।
नेता रावलले नेपालको स्वाभिमानसँग जोडिएको विषयमा कसैसँग सम्झौता नहुने बताएका छन् । त्यस्तै उनले भ्रममा नपर्न पनि सबैमा आग्रह गरेका छन् ।
‘त्यसमा म कायम छु । प्रतिवेदनमा पनि त्यही छ । यस्तो तथ्यलाई नबंग्याउन सबैलाई हार्दिक आग्रह गर्दछु । नेपालको सर्वाभौमसत्ता, स्वतन्त्र स्वाधीनता, अखण्डता र स्वाभिमान विपरित कसैसँग सम्झौता हुन सक्दैन । त्यस्तो कसैले गरेर मानिदैन’, उनले भनेका छन् ।
