नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदाै ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान कार्यदलको प्रतिवेदनमा समावेश सुझावको कार्यन्वयन मन्त्रिपरिषद् पुर्नगठनबाट हुने भएको छ । प्रतिवेदनबारे आज अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेने भएका छन् । कार्यदलले तत्काल मन्त्रिपरिषद् पुर्नगठन गर्ने सुझाव दिएकोले ओली र प्रचण्ड त्यसको तयारीमा जुट्ने भएका छन् । स्रोतका अनुसार आगामी भदौ २० यता नै मन्त्रिपरिषद् पुर्नगठनको काम सक्ने तयारीमा ओली र प्रचण्ड रहेका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल भदौ २० गतेदेखि सकिँदै छ । त्यसैले पनि ओली र प्रचण्डले त्यसअघि नै नयाँ अर्थमन्त्रीसहित कम्तिमा १० नयाँ मन्त्रीहरू नियुक्त गर्ने तयारी गरेका छन् । ओलीले पाँचैवर्ष सरकारको नेतृत्व गर्ने भएकाले नयाँ मन्त्रीहरूमा प्रचण्ड र माधव नेपाल समूहका धेरैले स्थान पाउने भएका छन् । मन्त्रीका आकांक्षी धेरै भएको र भागबण्डाका आधारमा पनि नेपालदेखि झलनाथ खनाल समूहसम्मलाई चित्त बुझाउनुपर्ने भएकोले प्रधानमन्त्री ओलीले २ मन्त्रालय फुटाउने र राज्य मन्त्रीविनै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेको स्रोतको दाबी छ ।
संविधानमै २५ भन्दा बढी मन्त्री रहन नपाउने ब्यवस्था गरेको कारण ओलीलाई आकांक्षीहरूको व्यवस्थापन गर्न हम्बे हम्बे परेको छ । अहिले उनको नेतृत्वको सरकारमा उनी सहित २० मन्त्री र ३ जना राज्यमन्त्री छन् । दुई जना मन्त्रीहरू डा. युवराज खतिवडा र वसन्त मानन्धरले भने दुई दुई वटा मन्त्रालयको कार्यभार सम्हाल्दै आइरहेका छन् । खाली २ मन्त्रालय, २ नयाँ मन्त्रालय सिर्जना गर्ने र ६ जना २ वर्ष कार्यकार पूरा गरेका मन्त्रीलाई विदाई गरेर १० नयाँ नेतालाई अवसर दिइने भएको हो ।
अहिले लेखराज भट्टले सम्हाल्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वर्षमान पुनले सम्हाल्दै आएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय टुक्राउने ओलीको तयारी छ । साथै २ वर्ष कार्यकाल पूरा गरेका तर कार्यसम्पादन राम्रो नभएका ६ जना मन्त्रीहरू हटाउने तयारी गरिएको छ । स्रोतका अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, खानेपानी मन्त्री विना मगरलाई विदाइ गरिंदैछ । तर गृहमन्त्री रामबहादुर थापालाई हटाउने बारेमा ओली र प्रचण्डबीच कुरा बाझिएको बुझिएको छ । पछिल्लो समय आफूलाई सहयोग गर्दै आएकोले ओली भने थापालाई निरन्तरता दिन चाहन्छन् भने प्रचण्ड भने हटाउन चाहन्छन् । उनको भविष्य नेकपाको स्थायी कमिटीले नै निर्धारण गर्ने भएको छ ।
नयाँ मन्त्रीमा भने हालै प्रतिवेदन बुझाएको कार्यदलमा रहेका अधिकांश नेताहरू पर्ने भएका छन् । कार्यदलमा रहेका महासचिव विष्णु पौडेलबाहेक भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषालगरी चारैजनाले यसपटकको पुर्नगठनमा अवसर पाउने भएका छन् । थप नयाँ मन्त्रीमा बेदुराम भुषाल, देवेन्द्र पौडेल, अमनलाल मोदी समेतको नाम टुंगो लागेको स्रोतले बताएको छ । बाँकी मन्त्रीहरू भने तत्काल बस्ने भनिएको स्थायी कमिटीको रायअनुसार तय गर्ने अध्यक्षद्वयको तयारी छ ।
