नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदाै ।
कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढेपछि गत बुधबारबाट लागू भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय भएको हो । स्रोतका अनुसार उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।
यसबारे प्रशासनले आज दिउँसो मात्र सूचना जारी गर्ने भएको छ । उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो । त्यही अनुसार गएराति अबेरसम्म बसेको बैठकले उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको छ ।
जारी निषेधाज्ञा आज मध्यरातबाट सकिँदैछ । काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण भयावह बन्दै गएको भन्दै निषेधाज्ञा थप कडा पारिएको छ। निषेधाज्ञा थपिएसँगै सङ्क्रमितहरूका लागि आइसोलेसन सेन्टर बढाउन र प्रभावकारी ढङ्गले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताइएको छ। मर्निङवाक गर्नेदेखि दैनिक उपभोग्य वस्तु खरिदमा भीडभाड गर्नेलाई कारबाही सुरु गरिएको छ।