नवकान्तिपुर संवाददाता
नेपालगञ्ज, १० भदौ ।

बाँकेमा बुधबार ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्जमा २२ जना र कोहलपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
फोकलपर्सन श्रेष्ठका अनुसार, कोहलपुरमा कोरोना देखिएका ५१ जना कौशिलानगर ब्यारेकका नेपाली सेना हुन् । नेपालगञ्जमा कोरोना देखिएका २२ जनामा आठ जना नेपाल टेलिकमका कर्मचारी छन् । कोरोना देखिनेमा बैकर्स पनि छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दिया बाँसगढीका एकजनामा पनि कोरोना देखिएको छ । उनी बाँसगढी नगरपालिका वडा नं। ९ का हुन् ।
बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय १६ जना पुगेको छ ।

