नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदाै ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा दुईजनाको ज्यान गयो भने ३ सय १ जना नयाँ संक्रमित थपिए । यससँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंमा ३ हजार १ सय ८५, ललितपुरमा ५ सय १० र भक्तपुरमा ३ सय २४ संक्रमित रहेका छन्। काठमाडौं महानगरमा मात्रै १ हजार ८ सय ४० जनामा कोरोना संक्रमण भएको छ ।
कोटेश्वरमा १ सय ३२ जना र महाराजगञ्ज क्षेत्रमा १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ । कुलेश्वर, बानेश्वरलगायत महानगरका अन्य ठाउँहरु पनि धेरै प्रभावित भएका छन् । ललितपुर महानगरभित्रै झण्डै ३ सय जनामा कोरोना संक्रमण भएको छ ।
उपत्यकाका संक्रमितमध्ये ४० जना अहिले सम्पर्कमा छैनन् । काठमाडौं महानगरभित्र २७ जना सम्पर्कविहीन भएका छन् । कोरोना पोजेटिभ रिपोर्ट आए पनि ती व्यक्ति सम्पर्कमा छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गलत विवरणका कारण व्यक्ति फेला पार्न नसकिएको जनाएको छ ।