कोरोना संक्रमणबाट बिहानै थप चार जनाको मृत्यु

कोरोना संक्रमणका कारण विहीबार बिहानै एक गर्भवतीसहित थप चार जनाको मृत्यु भएको छ। वीरगञ्ज, बुटवल, ललितपुर र पोखरामा गरेर थप चार जनाको मृत्यु भएको हो। वीरगञ्जस्थित नारायणी अस्पतालमा विहीबार बिहान ६ बजे बारा घर भएकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ। अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाका अनुसार उनी ३३ हप्ताकी गर्भवती थिइन् । ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए।

त्यसैगरी ललितपुरस्थित पाटन अस्पतालमा विहीबार बिहानै ललितपुरकै कोरोना संक्रमित ६५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।



त्यस्तै पोखराकी ३२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोरोना संक्रमणपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड-१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत ती महिलाको विहीबार बिहान ८ बजे मृत्यु भएको प्रष्ठिानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिएका छन्। पोखरा महानगरपालिका-११ निवासी ती महिला कोरोना संक्रमण पुष्टि भएपछि यही भदौ ७ गते अस्पतालमा भर्ना भएकी थिइन्।

त्यसैगरी रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।

सम्बन्धित समाचार