नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदौ ।
प्रसिद्ध भिडियो एप टिकटकका प्रमुख कार्यकारी केभिन मायरले राजीनामा दिएका छन् । टिकटकको स्वामित्वबारे चिनियाँ स्वामीत्वकर्ता कम्पनी बाइटडान्स र अमेरिकी सरकारबीच रस्साकस्सी चलिरहेका बेला केभिनले राजिनामा दिएका हुन् ।
ट्रम्प प्रशासनले टिकटकका चीनियाँ स्वामित्वकर्तामाथि एप बेच्न दबाव दिँदै आएको छ । टिकटकका कारण सुरक्षा खतरा पैदा भएको अमेरिकाको तर्क छ । केही दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनभित्र अमेरिकी कम्पनीको स्वामित्वमा नआएमा टिकटकमाथि प्रतिबन्ध लगाउने धम्की दिएका थिए ।
‘पछिल्ला केही सातायता राजनीतिक वातावरणमा द्रुत परिवर्तन देखिएको छ । यस्तोमा‚ कर्पोरेट संरचनामा केकस्ता परिवर्तन जरुरी छ र त्यसले मेरो भूमिकालाई के–कसरी परिभाषित गर्छ भन्नेबारे मैले केही महत्वपूर्ण कार्य गरेको थिएँ’‚ ५८ वर्षीय केभिनले आफ्ना कर्मचारीलाई पठाएको इमेलमा लेखेका छन्‚ ‘हामी छिट्टै एउटा संकल्पमा पुग्ने अपेक्षा पनि थियो । तर‚ भारी हृदयका साथ कम्पनी छाड्ने निर्णयमा पुगेको यहाँहरूलाई अवगत गराउन चाहन्छु ।’
टिकटकले केभिनको निर्णयको स्वागत गरेको छ । ‘केही महिनायता देखिएको राजनीतिक उतारचढावले केभिनको भूमिकाबारे प्रश्न उब्जाएको थियो । यस सन्दर्भमा उनले लिएको निर्णयप्रति हामी सम्मान व्यक्त गर्छौं । उनलाई धन्यवाद ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गर्छौं‚’ टिकटकले एक वक्तव्य जारी गर्दै भनेको छ ।
मायर टिकटक कम्पनीमा आउनुअघि डिज्नी कम्पनीका कार्यकारी प्रमुख थिए ।