नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदाै ।
होम आइसोलेशनमा रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालगरी तीनै जना मन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्माचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै रक्षामन्त्री पोखरेल, गृहमन्त्री थापा र स्वास्थ्यमन्त्री ढकाल होम आइसोलेशनमा थिए ।
छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा जाँदा उनीहरूको ती कर्मचारीसँग भेट भएको थियो । ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन जना मन्त्री नै होम आइसोलेशनमा बसेका थिए।
तीनै जनाको रिपोर्ट आज आइपुगेको उपप्रधानमन्त्री निकट स्रोतले बतायो। उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा नेकपा सचिवालय सदस्य समेत रहेकाले आज बस्ने भनिएको बैठक समेत स्थगित भएको थियो। नेकपा सचिवालय बैठक भदौ १८ गतेलाई सरेको छ।