नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदाै ।

बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लाग्दा खोटाङमा एक बालकको ज्यान गएको छ । ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको छर्राले लाग्दा १२ वर्षीय शैलेन्द्र तामाङको ज्यान गएको हो ।
सुठुनीबारीमा बाँदर धपाउनका लागि शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा छर्रा लाग्दा बालकको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमोरियाले बताए ।
प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ । बुवाआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र सानिआमाको घरमा बस्दै आएका थिए । बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताए ।

