नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ भदाै ।

कालीकोटको तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा एकै परिवारका चारसहित आठ जनाको ज्यान गएको छ । पहिरोमा दुई महिनाको बालकको पनि ज्यान गएको छ ।
आइतबार बिहान कालीकोट र जुम्लाको सिमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा नाग्म बजारमा व्यपार व्यवसाय गर्ने शुभकालिका गाउँपालिका ७ का ४० वर्षीय परेक शाही, उनका पाँच वर्षीय छोरा निराजन, दुई महिने छोरा अक्कल र ७ वर्षीया छोरी हिमाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख, डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिए ।
यस्तै तिलागुफा नगरपालिका १ का ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीया थाइला भेरिकार र १० वर्षीय गजेन्द्र भेरिकारको ज्यान गएको छ । पहिरोमा परेका पुन्या शाही र अर्जुन हमालको उद्धार गरिएको छ । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
पहिरोमा अझै चार जना हराइरहेका छन् । उनीहरुको सोमबार बिहानदेखि फेरि खोजी गरिने प्रहरीले जनाएको छ ।

