नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदाै ।

चितवनमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट गएराति प्राप्त विवरणमा चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरू सबैजना भरतपुर महानगरपालिकाका रहेको भरतपुर अस्पतालले जनाएको छ । संक्रमितहरूमा २१ जना पुरुष र १४ जना महिला रहेका छन्। यसै गरी भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा १८ जना संक्रमित थपिएका हुन् ।
संक्रमण पुष्टि हुनेहरु १० महिने शिशुदेखि ६५ वर्षीया वृद्धासम्म रहेका छन् । त्यस्तै गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले जानकारी दिइन् । चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्। ती मध्ये ६ जना महिला र ६ जना पुरुष छन् ।
उनीहरूको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो। यस्तै पूर्वी चितवनको राप्ती नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन् । उनीहरूको राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको जनाइएको छ ।

