नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।

सिन्धुलीको सुनकोसी गाउँपालिकाको एक सामुदायिक विद्यालयका शिक्षकलाई सोही विद्यालयमा अध्ययनरत केही विद्यार्थीले कुटपिट गरेको छन् । एसइईमा कम नम्बर दिएको निहुँमा आइतबार दिउँसो सुनकोसी ७ मझुवास्थित गणेश माविका प्रधानाध्यापक र एक शिक्षकमाथि कुटपिट भएको हो । विद्यार्थीले विद्यालयमै गएर शिक्षकमाथि निर्घात कुटपिट गरेका प्रहरीले जनाएको छ ।
प्रद्यानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी विषय पढाउने शिक्षक चित्रबहादुर भण्डारीमाथि विद्यार्थीले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले जानकारी दिइन् । कुटपिटमा संलग्न विद्यार्थी फरार छन् ।
‘कुटपिटमा संलग्न विद्यार्थीको खोजी भइरहेको छ,’ एसपी सिग्देलले भनिन्, ‘कुटपिटबाट दुई शिक्षक घाइते हुनु भएको छ । उहाँहरुले आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा आएर उजुरी दर्ता गराउनु भएको छ । हामीले उहाँहरुको घाउ जाँच गरेर घटनाको अनुसन्धान सुरु गरेका छौँ ।’
नौ जनाको समूहमा आएका विद्यार्थीमध्ये तीन जनाले शिक्षकद्वयमाथि कुटपिट गरेका बताइएको छ । विद्यार्थीको कुटपिटबाट प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीको नाक, मुखसहित शरीरका विभिन्न अंगमा चोट लागेको छ ।
यस वर्षको एसइईमा गणेश माविबाट छात्रछात्रा गरी ६० जना सहभागी थिए । उननीहरुमध्ये नौ जनाको रिजल्ट ‘सी’ आएको विद्यालय प्रशासनले जनाएको छ । यस वर्ष विद्यालयले पठाएको नम्बरर्क आधारमा परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको ग्रेड निर्धारण गरेको थियो ।
रिजल्ट ‘सी’ आएका विद्यार्थीले शिक्षकलाई कुटेका हुन् । नतिजा सी आए पनि विज्ञान विषयबाहेक अन्य विषय पढ्न पाइने भन्दा भन्दै कुरै नसुनी विद्यार्थीले आफूहरुमाथि कुटपिट गरेका पीडित शिक्षकहरुले बताएका छन् । कुटपिटबाट घाइते शिक्षकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

