नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदाै ।

मनसुनको न्यूच चापीय रेखा नेपालतिर नजिक भएको छ। जसले गर्दा आज धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार अहिले बिहान पनि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
उनका अनुसार यसअघि राति देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको थियो भने प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत भएको थियो। यस्तै आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यो सम्भावना पूर्वदेखि पश्चिमसम्मै रहेको मौसमविद् पोखरेलले जानकारी दिइन्।
यसैगरी दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानमा भारी वर्षाको सम्भावना छ। यो भनेको यी हरेक प्रदेशका थोरै-थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना हो।
मौसमविद् पोखरेलका अनुसार मनसुनको न्यून चापीय रेखा सोमबार बेलुकादेखि पूर्वतर्फबाट नेपालको नजिक भएको हो। अहिले यो मध्य भूभागसम्म फैलिसेककेको छ भने बिस्तारै पश्चिमतिर पनि फैलिने क्रममा छ। यसैको प्रभावले अब कम्तीमा ३ दिन देशमा अलि धेरै स्थानमा वर्षा हुने सम्भावना बढेको हो।

