काठमाडौं उपत्यकाको निषेधाज्ञा अरू एक हप्ता थपिने सम्भावना

कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि बुधबार मध्यराति १२ बजे सकिँदै छ। तर उपत्यकामा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा निषेध अन्त्य गर्ने सम्भावना नरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

‘सहजीकरण गर्ने नाममा अहिल्यै स्वास्थ्यका मापदण्ड बेवास्ता गर्न मिल्ने अवस्था छैन, कडाइ अझै जारी राख्न जरुरी देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्, ‘त्यसकारण भदौ १७ बाट पुनः एक हप्ता निषेधको अवधि लम्ब्याउनेबारे हामी (तीन जिल्लाका सीडीओ) अनौपचारिक छलफल गरिरहेका छौं।’



उनका अनुसार अरू एक हप्ता निषेधको आदेश जारी हुन सक्ने सम्भावना छ।  ‘यस विषयमा निर्णय गर्न सम्भवतः भोलि बैठक बस्नेछौं,’ उनले भनिन्। ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि यस विषयमा भोलि संयुक्त बैठक बसेर समीक्षा गर्ने र एउटा निर्णय हुने जानकारी दिए।

संक्रमितको संख्या काठमाडौंमा ३ हजार ४ सय ५५, ललितपुरमा ५ सय ७५ र भक्तपुरमा ३६६ पुगेको छ ।

सम्बन्धित समाचार