भक्तपुरमा एकै परिवारका १३ जनामा कोरोना पुष्टि, टोलटोलमा स्वाब सङ्कलन अभियान सुरु

भक्तपुरमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुर नगरपालिका-३ बाराहीस्थानमा १२ महिला र १२ पुरुष गरी २४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये १३ जना एउटै परिवारका हुन् । वडाध्यक्ष राजकृष्ण गोराका अनुसार एकै घरका १३ संक्रमितमध्ये ५२, ४०, २८ र १८ वर्षिया ४ महिला, २ र ८ वर्षिया २ बालिका र ६३, ५६, ५४,४६,३४, ३२ र ३० वर्षिय पुरुष छन् ।

बाराहीस्थानमा बाराहीपिठस्थित भजन टोलीबाट कोरोना फैलिएको अनुमान गरिएको छ । वडा नम्बर ३ मा हालसम्म ४४ जनाको स्वाब संकलन गरिएको छ ।



टोलटोलमा स्वाब सङ्कलन अभियान सुरु
सूर्यविनायक नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले टोलटोलमा कन्ट्याक्ट ट्रेसिङ गर्दै स्वाब सङ्कलन अभियान शुरु गरेको छ । नगरपालिका क्षेत्रमा जोखिमयुक्त वडा र टोलको पहिचान गरी नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरी टोलटोलमा स्वाब सङ्कलन शुरु गरेको हो ।

नगरपालिकाले सोमबार सूर्यविनायक चोक (ट्रली बसपार्क) मा वडा नं ६ र ८ का कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रहरीसहित ५५ जनाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाएको छ । नगरप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नं १, ६ र ८ का वडाध्यक्ष क्रमशः सानुकाजी कायस्थ, राजेश्वर भुजु र किरण थापा, वडा नं २ र ३ का वडासदस्य सुवास कार्की, प्रभुराम श्रेष्ठसहितको जनप्रतिनिधिको टोली सहभागी भएर स्थानीयवासीको स्वाब सङ्कलन गरिएको थियो ।

नगरप्रमुख थापाले नगरपालिका क्षेत्रमा पछिल्लो समयमा अधिक सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण भएका जोखिमयुक्त क्षेत्रको पहिचान गर्दै पीसीआर परीक्षणको दायरा फराकिलो पार्दै लगेको बताए । उनले नगरपालिकाले आवश्यकताका आधारमा जोखिमयुक्त टोलमै पुगेर स्वाब सङ्कलन गर्ने, उनीहरुलाई होम क्वारेन्टिनमा राख्ने, सङ्क्रमण पुष्टि भएका तर लक्षण नदेखिएकालाई होम आइसोलेसनमा राख्ने, सक्रिय सङ्क्रमितलाई अस्पताल लैजानेलगायतका कामलाई व्यवस्थितरूपमा सञ्चालन गरेको बताए ।

सम्बन्धित समाचार