नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।

पर्वतको विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । सुरुमा मेनेन्जाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रस्त कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका सन्दीप लामिछाने चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका हुन् ।
उनको शरीरका कुनै पनि भाग चल्दैन भने उनी बोल्न, हाँस्नसमेत सक्दैनन् । त्यति मात्र होइन, उनी आफैँ खानसमेत सक्दैनन् । सहज रूपमा सास फेर्न पनि गाह्रो हुन्छ । सुरुमा उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको भए पनि निको नभएपछि उनलाई झारफुक गर्ने तथा नेपालका सबैजसो अस्पताल पुर्याइसकियो। तर पनि अवस्था नसुध्रिएको उनकी आमा कल्पना सुवेदीले बताइन् ।
‘नेपालका सबै ठाउँमा पुर्यायौँ तर निको हुन सकेन, अहिले काठको मुढोजस्तै ज्यूँदो अवस्थामा रहेको शरीर कुरेर बस्नुको विकल्प भएन,’ सुवेदीले भनिन् । शारीरिक रूपमा वृद्धि भए पनि हातखुट्टा र शरीरका कुनै पनि भागले काम नगरेपछि काठको मुढोजस्तै चौबिसै घण्टा पल्टाएर वा ह्विलचियरमा ठड्याएर राख्ने गरिएको छ। आर्थिक अवस्था कमजोर भएकाले जेठा छोरा सन्दीपको अवस्था यस्तो भएको उनका बाबु कृष्णप्रसादले दुखेसो पोखे ।
अन्य दुई सन्तान भने स्वस्थ नै छन् । ‘रोग लागेदेखि नै उपचारबाट निको हुन्छ कि भनेर लाखौँ खर्च गरियो, बीसको उन्नाइस भएन,’ आमा कल्पनाले रुँदै भनिन्, ‘न धन बच्यो, न सपाङ्ग नै भयो ।’
देख्दै असहज उनको अवस्थाले परिवारका सदस्य पिरोलिएका छन्। उनलाई खुवाउने, दिसापिसाब गराउने, लुगा फेरिदिने, नुहाइधुवाई गरिदिनका लागि एक जना रातदिन खट्नुपर्ने अवस्था छ । आमाबाबुले रात र दिन आलोपालो गरी स्याहारसुसार गर्नुपर्ने बाध्यता रहेको कल्पनाले सुनाइन् । कतैबाट आर्थिक सहयोग पाएमा विदेश लैजाने सोच सुवेदी परिवारको छ । ‘अब त निको होला भन्ने आश पनि मरिसक्यो,’ कल्पनाले भनिन्, ‘यही अवस्थामा कति वर्ष कुरेर बस्नुपर्ने हो थाहा छैन ।’
भगवानले पनि गरिब परिवारमा बज्रपात पारिदिएको कल्पनाको दुखेसो छ । सन्तान पाएपछि हुर्काउँला, बढाउँला, पढाउँला र उनीहरुको कमाइबाट सुखसयलमा बसौँला भन्ने अभिभावकको चाहना चकनाचुर भएको कृष्ण दम्पतीको गुनासो छ ।
सन्दीपले पूर्ण अपाङ्गताको सुविधा पाउँदै आएका छन् भने स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि ५ हजार रुपैयाँ सहयोग पाएका छन् । यसबाहेक अहिलेसम्म राज्यबाट उपचारका लागि होस् वा दैनिक स्याहारसुसारका लागि होस् कुनै पनि सहयोग नपाएको गुनासो उनीहरुको छ ।

