नवकान्तिपुर संवाददाता
विराटनगर, १६ भदौ ।

प्रशासनले निषेधाज्ञा जारी गरिरहँदा विराटनगरबाट भारततर्फ लैजादै गरेको अवस्थामा ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सोमबार बेलुका साढे सात बजे विराटनगर–१७ स्थित एकीकृत भन्सार जाँच चौकीतर्फ जाने सडकमा सशस्त्र प्रहरी बलको बोडर आउट पोष्ट विराटनगर टोलीले १४६ किलो गाँजासहित ३४ वर्षीय सुरेशकुमार मेहतालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भारततर्फ लैजाने क्रममा को २ त ६०५७ नम्बरको ट्रयाक्टर र चालक सुनसरी गढी गाँउपालिकाका मेहतालाई पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरीका मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार सुनसरीको धरानबाट भित्रिएको ट्रयाक्टरमा रहेको गाँजाको परिमाण प्रदेश १ मा हालसम्मकै उच्च हो । उनका अनुसार गाँजा प्लाष्टिकमा प्याक गरी ट्रयाक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर ल्याइएको थियो । ट्रयाक्टर खाली अवस्थामा रहेको बताएका प्रमुख पौडेलले ‘फल्स बटन’ मा लुकाएको अवस्थामा १२७ प्याकेट गाँजा बरामद भएको हो ।
पक्राउ परेका ट्रयाक्टर चालक मेहताले सो ट्रयाक्टर विराटनगरको शनी मन्दिरबाट बुझेको बताएका छन् । उनले हालसम्म बरामद गरिएको गाँजाको मुख्य कारोबारी र लैजान लागेको स्थानबारे जानकारी दिइनसकेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका एक पदाधिकारीका अनुसार चालकलाई विराटनगर १८ भेडियारी पुर्याउनका लागि १० हजार रुपैयाँ दिने कुरा रहेको थियो । नेपालमा प्रति किलो १० हजार रुपैयाँमा कारोबार हुने गाँजाको अवैध रुपमा धनकुटामा उत्पादन भएर निषेधाज्ञाका क्रममा भारततर्फ लैजान खोजिएको सशस्त्रको बुझाई छ ।
अर्कोतर्फ, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले पक्राउ परेका मेहताको सूचना र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा गाँजा कारोबार गर्ने गिरोहलाई कारवाहीको दायरामा ल्याउने बताउँछन् ।
बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको ट्रयाक्टरसहित चालकलाई सोमबार राति कारबाही अघि बढाउन सशस्त्रले ईलाका प्रहरी प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ । रानीका प्रहरी निरीक्षक दीपक थापाले चालकविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी दिए ।
ट्रयाक्टर खोजीसँगै सोमबार बिहान करिब १० बजे विराटनगर प्रवेश गरेको र गाँजा लोड गरेको ट्रयाक्टर देखा परेको थियो। दिनभर कतै राखेर साँझको समयमा सीमा कटाएर भारततर्फ पुर्याउने प्रयास हुँदै गर्दा नियन्त्रणमा लिन सकिएको सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको भनाई छ ।

