यसरी हुँदैछ कांग्रेसमा भागवण्डा : देउवा प्रधानमन्त्री, पौडेल राष्ट्रपति र शशांक सभापति !

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी चैतमा नै हुने कुरामा त शंका नै छ तर महधिवेशन लक्षित गतिविधि हेर्दा कांग्रेसमा एक किसिमको जागरण पैदा भएको बुझ्न सकिन्छ । कोरोनाको प्रभावले गर्दा तल्ला कमिटीगत रूपमा महाधिवेशनको तयारी हुन सकेको छैन तर शीर्ष नेताको तयारी र गतिविधिले भने महाधिवेशनको माहौल बनिसकेको छ । महाधिवेशन मिति नजिकिँदै गर्दा सभापतिमा १० जनासम्मले दाबी गरेका थिए । तर पछिल्लो समय पार्टी सभापति नै कोइराल समूहसँग कार्यगत एकता गर्न तयार भएपछि सभापतिको दाबी गर्ने १० जनाकै स्वर मलिन हुन पुगेको छ ।

सभापतिमा देउवा आफैं दोहोरिने योजनामा थिए तर उनको पक्षमा रहेका नेता विमलेन्द्र निधिले आफैं सभापतिको उम्मेद्वार बन्ने अडान नछोडेपछि देउवा कोइराला समूहलाई साथ दिने योजनामा पुगेका हुन् । निधिलाई सभापतिको उम्मेद्वार बनाउँदा उनको जित सुनिश्चित नदेखिएको भन्दै देउवाले सभापतिमा महामन्त्री शशांक कोईरालाई समर्थन गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । देउवाको यो निर्णयले लामो समय देउवाको खेमामा रहेर उनलाई साथ दिंदै आएका नेता निधिलाई ठूलो झड्का लागेको छ ।



कांग्रेसमा देउवासहित झण्डै १० जना नेताहरूले सभापतिमा दाबी प्रस्तुत गरिसकेका थिए । यसरी सभापतिमा दाबी गर्नेमा देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्ण सिटौला, प्रकाशमान सिंह, शेखर कोइराला, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, गगन थापालगायतका थिए । तर देउवाले नै शशांकलाई अगाडि सार्ने भएपछि पौडेल समूहको तर्फबाट सभापतिमा विवाद समाप्त भएको छ । देउवाको यो निर्णयबाट निधि र रामचन्द्र पौडेललाई भने ठूलै चोट परेको देखिन्छ ।

शशांकलाई देउवाको सशर्त समर्थन
निधिले सभापतिमा दाबी नछोडेपछि देउवाले आफ्नो समूह २ धु्रवमा बाँडिने बुझे । आफ्नो समूह एकढिक्का भएमात्र महाधिवेशनमा जित हात पार्न सकिने बुझेका देउवाले आफू कमजोर हुनबाट बच्न कोइरालाई समर्थन गर्ने निष्कर्षमा पुगेका हुन् । तर देउवाले शशांकलाई समर्थन गर्नुमा एउटा स्वार्थ लुकेको छ । त्यो हो आफ्नी पत्नी आरजु राणालाई कांग्रेस महामन्त्री बनाउनु । देउवाले आफू सभापति बन्ने माहोल बिग्रिएपछि पत्नीलाई अगाडि सार्ने रणनीति लिएका हुन् । उनले आरजुलाई महामन्त्री बनाउने शर्तमा नै शशांकलाई सभापतिमा समर्थन गर्ने निर्णय लिएका हुन् ।

यता पौडेल समूहमै सक्रिय कोइराला समुहले पनि आफ्नो पोल्टामा सभापति आउने निश्चित भएपछि देउवाको सो शर्त सहर्ष स्वीकारेका थिए । यसबारे रामचन्द्र पौडेलसँग परामर्श नै नलिई शशांकले देउवाको शर्त स्वीकार गरेको स्रोतको दाबी छ । यसले पौडेल समूहमा फुट आउन सक्ने आँकलन पनि गरिएको छ । तर कोइराला समूह भने देउवाले साथ दिएपछि पौडेलले साथ नदिए पनि महाधिवेशनमा सभापति जित्नेमा ढुक्क देखिन्छन् ।

कोइराला समूहबाट सभापतिमा दाबेदारी प्रस्तुत गरेका शेखर कोइरालाले पनि शशांकको जित सुनिश्चित हुन्छ भने आफू पछि हट्न तयार रहेको बताएका छन् । कोइराला समूहका सबै नेता देउवाको शर्त मान्न तयार रहेको भए पनि रामचन्द्र पौडेल र उनी समर्थक नेताहरू देउवाको प्रस्तावबारे छलफलमै छन् । यदि पौडेललाई पनि देउवाको प्रस्तावमा सामेल गराउन सकेमा कांग्रेसमा लामो समयदेखि २ धारमा देखिएको देउवा र पौडेल समूहबीच एकता हुने देखिन्छ । यसले कांग्रेसलाई थप मजबुत बनाउने छ ।

रामचन्द्रलाई फकाउँदै देउवा र निधि
विमलेन्द्र निधिले देउवाबाट धोका पाएपछि देउवा र कोइरालाबाहेकका शक्तिको सहयोगमा सभापतिमा उम्मेद्वारी दिने तयारीमा छन् । त्यसको लागि उनले पौडेल र कृष्ण सिटौलालाई फकाउन शुरू गरेका छन् । देउवा कोइरालासँग असन्तुष्ठ नेताहरू र पौडेल र सिटौला समूहका नेताहरू एक हुन सकेमा सभापतिमा शशांकलाई हराउन सकिने निधिको बुझाइ छ ।

यता देउवाले पनि पौडेललाई फकाइरहेका छन् । उनले सबै मिलेर अगाडि बढ्न र महाधिवेशनमा शशांकलाई सभापति, निर्वाचनपछि आफू प्रधानमन्त्री र पौडेललाई राष्ट्रपतिको रूपमा अगाडि सार्नेगरी सहमतिका साथ अगाडि बढ्न प्रस्ताव गरेका छन् । देउवाको प्रस्तावमा पौडेलले कुनै प्रतिक्रिया दिएका छैनन् ।

यदि निधिले भनेजस्तै देउवा कोइराला समूह एकापट्टि र अन्य समूह अर्कोपट्टि भएको खण्डमा भने कांग्रेस महाधिवेशनमा चर्को प्रतिष्पर्धा हुन सक्ने देखिन्छ । तर रामचन्द्र पौडेलले निधिलाई समर्थन गरेर आफ्नो राजनीतिक करियरलाई नै दाउमा राख्ने कुरामा भने शंका गर्ने ठाउँ छ ।

सम्बन्धित समाचार