नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदाैं ।

यतिवेला गण्डकी प्रदेश र प्रदेश ५ मा हल्कादेखि मध्यमखालको पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी प्रदेशका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित सामान्य पानी परिरहेको छ ।
आज मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सर्ने क्रममा रहेकोले गण्डकी प्रदेशदेखि पश्चिमतिरका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । आज राति पनि देशभरको मौसम सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा आजराति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि पनि देशभर सामान्यतया बदली रहि केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

