जनकपुरधाममा एक महिलाले एकैपटक जन्माइन चार सन्तान

जनकपुरधाममा एक महिलाले चार वटा बच्चा जन्माएकी छन् । धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलवार साँझ एकैपटक चार शिशुको जन्म दिएकी हुन् ।

जनकपुरधामस्थित काव्या अस्पतालमा मंगलबार बिहान भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रिया मार्फत बच्चाहरु निकालेकी हुन् । उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छिन् । अरमानाले तीन छोरी र एक छोरालाई जन्म दिएकी छिन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।



शिशुहरु मध्ये तीनको स्वास्थ्य अवस्था सामान्य रहेपनि एक जनाको अवस्था भने अस्थिर देखिएको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले बताए । यता चार बच्चाको जन्म दिएकी अरमानाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

उनको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएकोले चिकित्सकको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा पठाइएको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंह जनाएका छन् ।

सम्बन्धित समाचार