नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदाैं ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन (सीबीए) को चुनाव नजिकिँदै जाँदा अध्यक्ष को बन्ने भन्ने होडमा कर्मचारीहरू दुई समूहमा विभाजित भएका छन् । श्रोतका अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष क्रमशः केदार देवकोटा र लेखनाथ कोइरालाले प्रधानमन्त्री केपी शर्मा गुटको र सीबीए उपाध्यक्ष भोलानाथ पोखरेल र महासचिव रेवन्त गौत्तमले माधव नेपाल गुटको पक्षपोषण गर्दछन् ।
सांगठनिक कामहरूमा अध्यक्ष समूहले अर्को समूहलाई पेल्ने गरेको नेपाल समूहको आरोप रहेको छ तर नेपाल समूहले हरेक निर्णय र काममा असहयोग गर्दै संगठनलाई कमजोर बनाउँदै आएको अध्यक्ष निकट एक केन्द्रिय सदस्यले बताएका छन् । आगामी असोज २४ गते हुने भनिएको निर्वाचन हुन नदिन स्वयम् भोला पोखरेलले पर्दा पछाडि सक्रिय भूमिका खेलेको आशंकामा केदार समूह सीबीएको अध्यक्ष पदको मनोनयनमा तीव्रताका साथ लागेको निकटहरू बताउँछन् ।
दुई समूहबीचको मनमुटाव र झगडाका कारण चुनाव प्रचारका कुनै काम हुन नसकेको श्रोत बताउँछ । अरू ट्रेड युनियन भने चुनाव प्रचारमा जुटिसकेका छन् । समयमा आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्न नसकेमा आफूलाई बलियो ठान्दै आएको संगठन दोस्रो हुने निश्चित देखिन्छ ।
कर्मचारीको छाडातन्त्र
सत्ताधारी पक्षका तथा युनियनमा रहेका ५७ जना कर्मचारीहरू व्यक्तिगत पहुँच र शक्तिका आडमा समायोजन भएको १८ महिनासम्म सरूवा भएको ठाउँमा नगई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सही गरी तलब खाइरहेका छन् । यसरी सरुवा भएको ठाउँमा नगई मन्त्रालयमा सही गरी बस्नेमा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेललगायत रहेको श्रोतले जानकारी दिएको छ ।
शक्ति र पहुँचका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विगत १५ वर्षदेखि सरुवा नभई बस्ने कर्मचारीहरूको संख्या पनि उल्लेख्य रहेको बुझिएको छ ।

