नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदाै ।
बृहत् सहमतिको साथ महाधिवेशनमा केन्द्रित हुने समझदारीमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रियसभामा कसलाई पठाउने भन्ने विवादमा रूमलिन पुगेको छ । राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडालाई दोहोर्याउने कि गत फागुन १४ गते पार्टी सचिवालयले गरेको निर्णयअनुसार पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने भन्नेमा नेकपामा विवाद छ ।
प्रधानमन्त्री केपी शर्मा ओली युवराजलाई नै दोहोर्याउन चाहन्छन् । प्रधानमन्त्रीको यो आशयलाई मुखै फोरेर कसैले पनि समर्थन गरेका छैनन् । यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पार्टी निर्णयअनुसार गौतमलाई राष्ट्रियसभामा पठाउनुपर्ने अडानमा छन् । यसको छिनोफानो आजै बस्ने सचिवालय बैठकले गर्ने भएको छ । सचिवालयमा भने गौतमको पक्षमा स्पष्ट बहुमत देखिएको छ ।
ओलीसँग फेरि रुष्ट गौतम
पार्टी विवाद चर्किएको बेलामा ६ बुँदे सहमतिको खाका सार्वजनिक गरेर ओलीलाई समर्थन गरेका गौतम अन्ततः ओलीसँगै रुष्ट हुन पुगेका छन् । राष्ट्रियसभामा गएर अर्थमन्त्री बन्न चाहेका गौतम ओलीले युवराजलाई नै दोहोर्याउन चाहेपछि उनीसँग रुष्ट बनेका हुन् । यही विषयमा मतभेद भएपछि र प्रचण्ड समूहले आफ्नो समर्थन गरेपछि गौतम प्रचण्ड समूहमै फर्किने तयारीमा रहेको स्रोतको दाबी छ ।
आज बस्ने सचिवालयले यसबारे निर्णय लिने भएपछि गौतमले ओलीलाई घेराबन्दी शुरु गरेका छन् । उनले सबै सचिवालय सदस्यहरूलाई फोन गरेर आफूलाई राष्ट्रियसभामा पठाउन सहयोग गर्न आग्रह गरेका छन् । गौतम सचिवालय स्रोतका अनुसार उपनिर्वाचनमार्फत् प्रतिनिधिसभामा जाने सम्भावना नरहेको र कोरोनाको कारण समय पनि प्रतिकूल रहेकोले गौतम राष्ट्रियसभामै गएर अर्थमन्त्री बन्न चाहन्छन् ।
गौतम सचिवालय स्रोतका अनुसार उनले सचिवालय सदस्यहरूलाई फोन गरेर ओलीले राष्ट्रियसभामा जानबाट रोक्न न्वारानदेखिको बल लगाएको ओरोप लगाएका थिए । फोन संवादमा गौतमले ‘ओलीले अर्थमन्त्री बनाऊ न त भन्दा त तयार नरहेकोले उनले प्रतिनिधिसभामा ल्याएर प्रधानमन्त्री बनाउलान् भन्ने कल्पना गर्न नसकिने’ बताएका थिए । ओलीलाई आफूले रहेक अप्ठ्यारोमा साथ दिए पनि उनीबाट आफूले कुनै विषयमा पनि साथ नपाएको भनेर गौतमले मन दुखाएका थिए ।
नेकपाको सचिवालय बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा राष्ट्रियसभाको रिक्त पदमा सिफारिस र कार्यदलको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई स्वामित्व ग्रहण गर्ने र स्थायी कमिटीमा पेस गर्न प्रस्तावको रूप दिने बुझिएको छ । सचिवालयले स्थायी कमिटी बैठक बोलाउने सम्भावना रहेको पनि स्रोतले जानकारी दियो । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरुद्ध छ ।
यता गौतमसँग सम्बन्ध बिग्रिएको कारण सबै पार्टी कमिटीमा अल्पमतमा परेका ओली फेरि पनि स्थायी कमिटी बैठकबाट भाग्ने हुन् कि भन्ने आशंका नेकपामा छ । फेरिएको समीकरणले कार्यदलले बुझाएको प्रतिवेदन नै अलपत्र पर्ने हो कि भन्ने चिन्ता पनि नेकपाभित्र व्याप्त छ ।