बागलुङ बाढी अपडेटः १० जनाको शव फेला, ४१ बेपत्ता

खराब मौसमले घटनास्थल गएको गृहमन्त्रीसहितको टोली पोखरा फर्कियो

बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ ।

घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको छ । उनले भने, ‘हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ ।’



घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ । अरिवरल वर्षासंगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन न।पा।४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन रहेका छन् ।

गृहमन्त्रीको टोली खराव मौसमले पोखरा फर्कियो

बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा गएको पहिरोमा परी ज्यान गुमाएका ब्यक्तिको बारेमा तथा त्यहांको बस्तुस्थिति बुझ्न गएको गृह मन्त्री रामबहादुर थापा सहितको टोली खराव मौसमका कारण घटनास्थल पुग्न नसकेपछि पोखरा फर्किएको छ ।

सो क्षेत्रमा गएराति गएको भीषण पहिरोमा परी हराइरहेका १० जनाको शव फेला परेको छ भने ४१ भन्दा बढी ब्यक्ति अझै हराइरहेका छन । खोजी तथा उद्धारको लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खटिएको छ ।

पोखरामा रहेका गृहमन्त्रीसहितको टोली मौसम खुल्नासाथ घटनास्थल जाने तयारीमा रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार