डा. केसीको सत्याग्रह स्थगित, माग पूरा नभए जुनसुकै बेला पनि सत्याग्रह सुरु गर्ने चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज (बिहीबार) देखि घोषणा गरिएको सत्याग्रह स्थगित गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड महामारी फैलँदै जाँदा जुम्लावासीको विशेष आग्रहलाई मनन् गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगित गरेको जनाएका हुन् । तर सरकारले माग पूरा नगरे कुनै पनि बेला पुनः सत्याग्रह थाल्ने पनि विज्ञप्तिमार्फत जनाएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसलगायत कार्यक्रम सञ्‍चालन गनुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरु गर्नुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्नेलगायतका चारबुँदे माग पूरा नभए भदौ १८ गतेबाट सत्याग्रह सुरु गर्ने बताएका थिए ।



बारम्बार साबुनपानीले हात धुन, बाहिर निस्कँदा नियमित मास्क लगाउन तथा सामाजिक दूरी कायम गर्ने शिक्षा सबैले बुझ्‍ने भाषामा निरन्तर दिइरहेर संक्रमणको फैलावट रोक्दै बारम्बार लगाइएका निषेधाज्ञा बन्द गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना जोखिमको समय निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई नियमित सेवा-सुविधाका साथै जोखिम भत्ता दिलाउन पनि माग गरेका छन् ।

उनले जारी गरेको प्रेस विज्ञप्ति यस्तो छ :

प्रेस विज्ञप्ति

हाल चलिरहेको कोभिड महामारीले विकेन्द्रित र गुणस्तरीय स्वास्थ्य सेवा कति महत्वपुर्ण छ भन्ने कुरा प्रष्ट पारेको छ । हाल नेपालमा विद्यमान् स्वास्थ्य प्रणाली कति नाजुक छ, हाम्रो सार्वजनिक स्वास्थ्य सेवा कति अपर्याप्त छ र निजी स्वास्थ्य सेवा कति महंगो छ भन्ने यो महामारीले छर्लंग देखाएको छ । रोग लाग्नै नदिइ रोकथाम गर्ने सामुदायिक चिकित्सा र जनस्वास्थ्यको अवस्था कति नाजुक छ भन्ने पनि अब प्रष्ट भएको छ । देशको सत्ता चलाउने व्यक्तिले नै नेपालीको इच्छाशक्तिकै भरमा संक्रामक रोगको महामारी रोकिन्छ भन्ने आश गरेबाट जनस्वास्थ्यका हिसाबले हामी कति पछाडि छौं भन्ने देखाउँछ । सारा देशको ध्यान आज कोरोना महामारीतिर हुँदा एकतिर अरु रोगका बिरामीको उपचारै नपाइ मृत्यु भइरहेको छ भने लकडाउन र निषेधाज्ञाले अर्थतन्त्र ठप्प हुँदा लाखौं मानिसहरु भोकै परेका छन् ।

यो अवस्थामा पनि स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा सुधार र सुशासनका लागि संघर्ष जारी राख्नु आवश्यक हुन्छ । त्यसका लागि मिडिया र नागरिक समाजको भुमिका प्रमुख हुन्छ । कोभिड महामारी नियन्त्रण नै प्रभावित हुने गरी सत्तासीन व्यक्तिहरुले निर्लज्ज रुपमा गरेको अरबौंको भ्रष्टाचार उदांगो पानै मिडियाले खेलेको भुमिका सराहनीय छ । यद्यपि नैतिकता गुमाइसकेको र लाज पचाइसकेको सरकार अद्यापि प्रमाणित भ्रष्टहरुलाई बचाउन उद्यत् छ । हाम्रा तर्फबाट हामीले शुरु गरेको सुधार अभियान पनि जारी छ ।

पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु शुरु गर्नुपर्नेलगायतका मागहरु राखेर हामीले आजदेखि सत्याग्रहको घोषणा गरेका थियौं । हाम्रा मागहरुमध्ये सबैजसो विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने थिए । तर सरकारले माग पूरा गर्नको सट्टा उल्टै हक अधिकारको माग गर्ने जुम्लावासीहरुलाई धम्क्याउने र दमन गर्ने काम गरेको छ । प्रधानमन्त्री ओलीको केन्द्र सरकारदेखि कर्णालीको प्रदेश सरकार समेत जायज मागसहितको हाम्रो आन्दोलनलाई दमन गर्न लागी परेका छन् ।

यस्तो परिस्थितिमा कोभिड महामारी फैलँदै जाँदा जुम्लाबाट हाम्रो अभियानलाई निरन्तर साथ दिइरहने आम नागरिक र जुम्लावासीको विशेष आग्रहलाई मनन गर्दै हामीले सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरेका छौं । सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुनः सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउँछौं । साथै बारम्बार साबुन पानीले हात धुन, बाहिर निस्कँदा नियमित मास्क लगाउन तथा सामाजिक दुरी कायम गर्न सबै नेपालीहरुलाई आग्रह गर्दर्छौं । यस्तो शिक्षा सबैले बुझ्ने भाषामा निरन्तर दिइरहेर संक्रमणको फैलावट रोक्दै बारम्बार लगाइएका निषेधाज्ञा बन्द गर्न सरकारको ध्यानाकर्षण गराउँछौं । यस्तो जोखिमको समय निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मिलाई नियमित सेवा–सुविधाका साथै जोखिम भत्ता दिलाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं ।

डा. गोविन्द केसी
जुम्ला
२०७७/५/१८

सम्बन्धित समाचार