मलमा कमिशनको खेल, किसान विलखबन्द

किसानहरूले समयमै मल नपाएपछि सरकार र विशेषगरी कृषिमन्त्री घनश्याम भुसालमाथि धेरैले प्रश्न उठाएका छन् । कतिपयले त मल ल्याउने ठेकेदार शारदा अधिकारीको घरमा बसेर संरक्षण दिएको भन्दै सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत आलोचना गरेका छन् । सामाजिक सञ्जालमा माक्सवाद एवं समाजवादी अर्थशास्त्र बुझेका र किसानका पक्षमा अखबारमा ‘लेख’ लेख्ने कृषिमन्त्री भुसाल किसान मल नपाएर छट्पटाउँदा कहाँ हराए ? भन्दै व्यंग्यसमेत गरिएका छन् ।

कोरोनाको कुनै परवाह नगरी बुधबार चितवनको गीतानगरमा मल लिनका लागि सयौंको संख्यामा किसानहरूको भीड लागेको थियो । चितवनको गीतानगर बजारमा रहेको सर्वोदय बहुउद्देश्यीय सहकारीको बिक्रीकेन्द्र अगाडि मल लिने किसानहरूको भीड लागेको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ । किसानहरूको उक्त भीडलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि जोडेर धेरैले उनीमाथि प्रश्न उठाएका छन्, किनकि किसानलाई दिने मल ल्याउने जिम्मा पाएका व्यक्ति प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् । साथै कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम कहाँ जन्मे भन्ने थाहा छ, तर राम जन्मेको ठाउँबाट नजिकै पर्ने गीतानगरका किसानको पीडा थाहा छैन ? भन्दै व्यंग्य गरिरहेका छन् ।



‘प्रत्येक वर्ष किसानले मलको लागि यस्तै दुख झेल्नु पर्छ । तर सत्ताभोग गर्नेहरूलाई देशमै मल कारखाना खोल्ने चेत कहिल्यै नआउने भयो’ नेपाली कांग्रेसका नेता धनराज गुरूङले आफ्नो फेसबुक पेजमा लेखेका छन् ‘किनकि प्रत्येक वर्ष मल खरिदको नाममा करोडौंको कमिशनको खेल हुन्छ । कमिशनको अगाडि चेतको ढोका पनि बन्द हुँदोरहेछ ।’

त्यस्तै सामाजिक फेसबुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले लेखेका छन् ‘काठमाडौंमा जतिसुकै बेसार पानी पिए पनि कोभिड संक्रमण बढ्दै छ र काठमाडौंमा बन्देज कायम छ । तर नेपालका गरिब किसानहरू केही केजी मलको लागि भीडका भीड गरेर लाममा घण्टौ बस्न बाध्य छन्, तैपनि मल छैन । यसबारे सरकारलाई खास्सै वास्ता छैन । तर को अर्थमन्त्री हुने भन्ने कुरो नै सबैभन्दा प्राथमिकतामा परेछ ।’ त्यसैगरी यही विषयलाई लिएर खगेन्द्र संग्रौलाले ट्वीट गरेका छन् ‘युरिया मल ल्याउने ठेक्का लिएर नल्याई अनिकालले मुलुकलाई मार्ने गरी कृषिमा हाहाकार मच्चाउने शारदाप्रसाद अधिकारी र हुमनाथ कोइरालालाई कठोर कार्बाही किन नगरेको ? निजहरू क्रमशः पुष्पकमल दाहालका घरबेटी र घैंटे कान्छाका सम्धी हुनाले त होइन ?’

सम्बन्धित समाचार