
रुपन्देहीमा शुक्रबार बिहान ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुने २ जना सिद्धार्थनगरका र १ जना बुटवलका हुन् । उनीहरुमध्ये २ जनाको अस्पतालमा उपचार भइरहेको थियो भने एकजनाको घरमै मृत्यु भएको हो। सिद्धार्थनगर – ८ का मिर्गौलाका बिरामी डायालिसिस गराउन अस्पताल जाने तयारी गरेका ४५ वर्षीय पुरुषको घरमै मृत्यु भएको हो ।
भरतपूर अस्पतालमा उपचार गराएर आएका उनी कोरोना भाइरस संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए । भरतपुर अस्पतालमा उपचार गरी भैरहवा आएका उनको बिहान मिर्गौलाको डायलासिस गर्न जाने तयारी गर्दैगर्दा मृत्यु भएको शाहले जानकारी दिए ।
यस्तै बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार सिद्धार्थनगर नगरपालिका– ७ की महिला स्वास्थ्य समस्या देखिएपछि भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन ।
उच्च रक्तचाप, सुगर, मिर्गौला र निमोनियाको समेत समस्या रहेकी उनलाई कोरोनाको समेत आशंकामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शुक्रबार बिहान साढे आठ बजे मृत्यु भएको आलमले जानकारी दिए । शुक्रबार बिहान नै बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार बुटवल–८ मिलनचोक निवासी उनी ९ दिनदेखि कोरोना विशेष अस्पतालमा उपचाररत् थिए । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको शुक्रबार बिहान ९ बजे मृत्यु भएको गौतमले जानकारी दिए ।
यो सँगै रुपन्देहीमा शुक्रबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । ६ सयभन्दा बढी सक्रिय संक्रमित रहेको रुपन्देहीमा यही भदौ २० गतेसम्म निषेधाज्ञा जारी छ ।

