नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदाै ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्यो । यसअघि विहीबार बसेको नेकपा सचिवालय बैठकको निर्णयअनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभामा रिक्त रहेको पदमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै सांसद हुनका लागि लामो समयदेखि गौतमले देखाएको चाहना पूरा हुने निश्चित भएको छ ।
गौतम २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेका व्यक्ति हुन् । निर्वाचनमा पराजय भोगेका व्यक्तिलाई राष्ट्रियसभा सदस्य जस्तो विशिष्ट स्थान दिँदा जनमतको उपेक्षा भएको भन्दै विभिन्न टिकाटिप्पणीहरू पनि भइरहेका छन् । राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएका गौतम अब मन्त्री नै बन्ने भन्ने खबरहरू बाहिरिंदा त्यसले झनै चर्चा पाएको छ ।
राजनीतिशास्त्री कृष्ण पोखरेलले प्रतिनिधिसभामा हारेको व्यक्ति पुनः सांसद भएर मन्त्री हुने कि नहुने भन्ने विषय नैतिक प्रश्न भएकाले यसलाई कानुनी प्रश्न गर्न नहुने भनेको छन् । सबै वकिल संविधानविज्ञ भएर बादी र प्रतिबादीको पक्ष वा विपक्षमा बहस गरेजस्तो संविधानको व्याख्या गर्न नहुने उनको भनाइ छ ।
त्यस्तै, संविधानविद् भीमार्जुन आचार्यले ‘संघीय संसद् अर्थात् प्रतिनिधिसभा वा राष्ट्रियसभाको एक कार्यकालमा एउटै व्यक्ति दुई पटक संसद् सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै गरेको छैन । यो संसदीय अभ्यास पनि होइन । कसको स्वार्थमा पटक पटक असफल भैसकेको व्यक्तिका लागि सरकारले गैह्र संवैधानिक कसरत गर्दैछ, बुझ्न सकिएन’ ट्विटमा भनेका छन् । ट्विटमा नै लेखक खगेन्द्र संग्रौलाले व्यंग्य गर्दै राष्ट्रियसभालाई हरूवाको राहतसभा भनेका छन् । ‘प्रतिनिधिसभाको चुनाव हार्नमात्र जानेका नारायणकाजी र वामदेवलाई काँधमा बोकेर राष्ट्रियसभामा उकालियो । नेकपाका बाँकी हरूवाहरूलाई पनि यसैगरी उकालौं र राष्ट्रियसभाको नाम हरूवा राहत सभा राखौं’ उनले भनेका छन् ‘लोकतान्त्रिक जनमतको सम्मानमा यो नेकपाको अविस्मणीय योगदान ठहरिने छ । हरूवाहरूलाई चेतना भया !’
त्यस्तै, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा आफ्नो फेसबुकमा लेखेका छन्– ‘संसदीय व्यवस्थामा विश्वास नै नभएकाहरूको हुल पसेर उडाउनुसम्म खिल्ली उडाए ! जितेकाहरू एकातिर प्रतिनिधिसभामा अनि हारेकाहरू बेसरम अर्कोतिर राष्ट्रियसभामा ! संसदको मुलद्वारबाट सँगै प्रवेश गर्दा क्या गज्जब अनुभूति हुन्छ होला ! हैट जनवादी केन्द्रियता !’ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले वर्तमान प्रणालीले काम नगरेको भन्दै ‘निर्वाचित प्रम र संवैधानिक राजाको व्यवस्था गरौं’ भनेका छन् । उनले ट्विटमा लेखेका छन् ‘बहुमत मात्र होइन झण्डै दुई तिहाई ल्याए पनि आफ्नैबाट सरकार ढल्ने डर हुनु, सरकार टिकाउनकै लागि चुनाव हारेकालाई संसदमा ल्याउनु र देखादेखि भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्छ भने टुंगो भयो । प्रणालीले काम गरेन । अब प्रणाली फेरौं । प्रत्यक्ष निर्वाचित प्रम र संवैधानिक राजाको व्यवस्था गरौं !’
