जेम्स बन्ड फेरि आउँदै

जेम्स बन्ड फ्रेञ्चाइजीको २५ औं फिल्म ‘नो टाइम टु डाइ’ (मर्न समय छैन) आगामी नोभेम्बर २० मा रिलिज हुने भएको छ । चार महिनाअघि नै प्रदर्शनमा आउने भनिएको फिल्मले कोरोना भाइरसको संक्रमण बढेर सिनेमाघरहरू बन्द हुँदा मिति सारेको थियो । बिस्तारै जनजीवन सामान्यतर्फ फर्कन लाग्दा केहीअघि मात्रै पुनः प्रचार थालेको यो फिल्मको निर्माण कम्पनीले दोस्रो ट्रेलर बिहीबार रिलिज गरेको छ ।

लगातार पाँचौं फिल्ममा जेम्स बन्ड बनेका डेनियल क्र्याग यस पटक जासुसी जागिरबाट अवकाशको जीवन जमैकामा दिन बिताइरहेको देखिने छन् । अपहरित एक जना वैज्ञानिकलाई बचाइदिन पुराना साथी जेफ्री राइट उनीसँग मद्दत माग्न आउँछन् । त्यसपछि बन्डको नयाँ मिसनको कथा पुनः सुरु हुन्छ ।



क्यारी जोजी फुकुनागाद्वारा निर्देशित ‘नो टाइम टु डाइ’ बाट यस पटक एना डे अर्मस् र लास्ना लिंचले सीआईए अफिसरका रूपमा डेब्यु गर्दैछन् । जेम्स बन्डको सिरिजमा यसअघि ५८ वर्षको अन्तरालमा २४ वटा फिल्म प्रदर्शन भइसकेका छन् ।

सम्बन्धित समाचार