कांग्रेस सभापति देउवाविरूद्ध पौडेल–सिटौला समूहको मोचावन्दी

१४ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशन लक्षित कार्यक्रममा व्यस्त छन् । सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्ने गरी क्रियाशील सदस्यता वितरण गरेको आरोपमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनको सुरूवात गरेका छन् । पौडेलको आन्दोलनमा अर्का नेता कृष्णप्रसाद सिर्टौला समूहले साथ दिएपछि कांग्रेसमा महाधिवेशन लक्षित समीकरणमा फेरबदल हुने देखिएको छ ।

सभापतिले अन्य पक्षको सहमति नलिइकन विधानभन्दा बाहिर गएर फारम वितरण गर्न थालेसँगै दुबैपक्ष देउवाविरूद्ध दवावका कार्यक्रम गर्न सहमत भएका छन् । पौडेल पक्षले मनोनित केन्द्रीय सदस्य र विभाग गठनमा सुरूदेखि नै आपत्ति जनाउँदै आएको छ । महाधिवेशन कार्यतालिका प्रकाशित भइसकेपछि भएका निर्णय फिर्ता गराउन सिटौला पक्षले पनि पहल गरिरहेको अवस्थामा दुबै समूह एकै ठाउँमा आइपुगेका छन् । देउवाविरूद्ध आन्दोलनमा कार्यगत एकता गरेका पौडेल र सिटौला समूह महाधिवेशनसम्म कार्यगत एकता गर्नेगरी छलफल चलिरहेको स्रोतको दाबी छ ।



सभापति देउवाको निर्णयविरूद्धमा निर्णय गर्न पौडेल पक्षले बोलाएको शनिबारको भर्चुअल मिटिङमा सिटौला पक्षका नेताहरू पनि सहभागी भएका थिए । नेता गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरी भर्चुअल मिटिङमा सहभागी भएका थिए । सिटौला सहभागी नभए पनि उनकै आग्रहमा गगनलगायतका नेता उक्त बैठकमा सहभागी भएको स्रोतको दाबी छ । बैठकमा २४ जना सहभागी थिए । सो बैठकले देउवालाई निर्णय फिर्ता लिन एक हप्ते अल्टिमेटम दिएको थियो ।

कांग्रेसले चैतमा महाधिवेशन गर्ने घोषणा गरेपछि झण्डै एक दर्जन नेताहरूले सभापतिमा उम्मेद्वारी दिने बताउँदै आएका छन् । संस्थापन पक्षबाट सभापतिमा सभापति शेरबहादुर देउवा नै दोहोरिने इच्छा देखाएका छन् । उनलाई टक्कर दिंदै लामो समय देउवानिकट रहेका नेता विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेद्वारी दिने भन्दै भेटघाटलाई तीब्रता दिएपछि देउवा दवावमा छन् । दुबै नेताले सभापतिमा उम्मेद्वारी दिने निर्णयबाट पछि नहटेकोले पौडेल या सिटौला समूहको समर्थनमा सभापति बन्ने तयारीमा देउवा र निधि रहेका छन् ।

संस्थापन पक्षबाट स्पष्ट रूपमा २ जना आकांक्षी देखिएपछि त्यसको फाइदा पौडेल र सिटौला समूहलाई पुग्ने भएको छ । आफूभित्रकै नेताहरूको व्यवस्थापनमा चुकेका देउवालाई महाधिवेशनसम्मै पेल्न सकिने आशाको साथ पौडेल र सिटौलाबीच कार्यगत एकता भएको देखिन्छ । देउवा र निधिबीच कुनै सहमति हुन नसकेमा १४ औं महाधिवेशनमा सभापति पद संस्थापन पक्षबाट बाहिर जाने देखिन्छ ।

सभापतिको उम्मेद्वार छान्न पौडेल समूहलाई सकस
पौडेल समूहमा पनि सभापति उम्मेद्वारका आकांक्षी धेरै हुँदा आपसमै एकता धरापमा परेको छ । रामचन्द्र पौडेल आफैं सभापतिको आकांक्षी छन् । साथै शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुन नरसिंह केसीदेखि रामशरण महतसम्मले सभापतिमा उम्मेद्वारी दिने बताउँदै आएका छन् । उनीहरूबाट एकजना छान्न पौडेल समूहलाई फलामको चिउरा चपाएसरी कठीन हुने देखिन्छ ।

यता सिटौला समूहसँग कार्यगत एकता भएका अवस्थामा सिटौला आफैं पनि सभापतिका दाबेदार हुन् । उनकै समूहका गगन थापालेसमेत सभापतिमा उम्मेद्वारी दिने बताउँदै आएका छन् । पौडेल र सिटौला समूहमा कार्यगत एकता भएर एकढिक्का भई महाधिवेशनमा लागेमा पनि संस्थापन पक्ष एक भएको खण्डमा जित हात पार्न सहज छैन । संस्थापन पक्ष नै दुई धार भयो भने सभापति कुन समूहले हत्याउछ, यसै भन्न सकिने अवस्था छैन ।

सम्बन्धित समाचार