काकीसँग अवैध सम्बन्ध, आर्थिक लेनदेनमा विवाद भएपछि हत्या

पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ। यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन्।

यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ । भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेपछि अवैध सम्बन्ध र लेनदेनका कारण हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकोलेको छ।



प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आफ्नै काकी पर्ने गीतासँग निर्मलको अवैध सम्बन्ध रहेको खुलेको छ । निर्मल र गीताबीच आर्थिक लेनदेनसमेत रहेको पाइएको छ । श्रीमान्सँग सम्बन्ध राम्रो नभएपछि गीता र निर्मलबीच हिमचिम बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँछ।

यस्तै, गत २५ साउन राति गोंगबुमा कृष्णबहादुर बोहोराको अवैध सम्बन्ध तथा अर्थिक लेनदेनकै कारण क्रूर तथा वीभत्स तरिकाले हत्या भएको थियो। महानगरीय अपराध महाशाखाका प्रमुखसमेत रहेका एसएसपी दीपक थापाले अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने उद्देश्यले तथा तत्कालको रिस र आवेगलाई मानिसले नियन्त्रण गर्न नसक्दा हत्याका घटना हुने गरेको देखिएको बताए।

‘मानिस अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने चाहन्छ, सम्बन्धका कुरा बाहिर जाने डरले हत्याका घटना भएको पाइएको छ । सामान्य विवादमा तत्कालको रिस र आवेगलाई कन्ट्रोल गर्न नसक्दा पनि हत्याका घटना भएका छन्,’ महाशाखाका प्रमुख एसएसपी थापाले भने भनेर आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार