
मोरङको पथरी-शनिश्चरे नगरपालिका-८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन् ।प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे- ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका-६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ छन् ।
रणपहेली किशोरीका काका नाता पर्ने व्यक्ति हुन् । आचार्य को२ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङ को२च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन् ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बालिकालाई १७ गते काभ्रेको साँगाबाट उद्धार गरी संलग्नहरूलाई पक्राउ गरिएको हो । प्रहरीले आरोपीलाई शुक्रबार अपहरण मुद्दामा अनुसन्धान सुरू गरेपछि सार्वजनिक गरेको हो ।

