मन्त्री भट्टराईद्वारा आफ्नो जन्म दिनको अवसरमा एसिडपीडित मुस्कान खातुनलाई आर्थिक सहयोग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्मदिनको अवसरमा एसिडपीडित किशोरी मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् ।

गत भदौ २० गते घरवाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार नगद प्रदान गरेका हुन् ।



सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए । उनले भने, ‘मलाई विश्वास छ, तपाई भविष्यमा डाक्टर बन्नु हुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’

उनले एसिडपीडित बालिका खातुनसँग अप्ठेरो बेलामा मात्र नभएर सजिलो बेला पनि जीन्दगीभर सम्बन्ध रहिरहने बताए । पीडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केहि दिनअघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने बचन दिएका थिए ।

जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकम मन्त्री भट्टराइले सामाजिक र परोपकारी काममा प्रयोग गरेका हुन् । ०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पीडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

०७२ को महाभूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेर यो खालको कामको शुरुवात गरेका मन्त्री भट्टराइले ०७३ सालको जन्मदिनमा बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बेसका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पढनपाठनको व्यवस्था मिलाएका थिए ।

०७४ को जन्म दिनमा मुटुको दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पीडित ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गरेका थिए । ०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्च स्वरुप नगद सहयोग प्रदान गरेका थिए । गत वर्षको जन्मदिनमा मन्त्री भट्टराईले पढाइ लेखाईमा अप्ठेरोमा परेका दृष्टिविहीन आमा बुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गरेका थिए ।

सम्बन्धित समाचार